काठमाडौं । प्रहरी वृत्त बौद्धका प्रहरी नायब उपरीक्षक (डीएसपी) सन्तोष रोकायालाई जिल्ला प्रहरी परिसर काठमाडौं तानिएको छ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एआईजी सुशीलसिंह राठौरले डीएसपी रोकायासँग केही विषयमा बुझ्नुपर्ने भएकाले परिसर तानिएको पुष्टि गरे। तर, उनले कुन विषयमा सोधपुछ गर्न लागिएको हो भन्नेबारे थप विवरण खुलाउन चाहेनन्।
हाल रोकायालाई जिल्ला प्रहरी परिसर काठमाडौंमा राखिएको छ भने प्रहरी वृत्त बौद्धमा नयाँ डीएसपी पठाउने तयारी भइरहेको छ।
प्रहरी स्रोतका अनुसार रोकायामाथि आर्थिक अनियमिततासम्बन्धी गुनासो परेको छ। जुवा खेल सञ्चालन हुने स्थान, स्पा तथा डान्सबारबाट नियमित रूपमा रकम असुल्ने गरेको आरोपपछि उनीमाथि छानबिन अघि बढाइएको स्रोतको दाबी छ।
यद्यपि, यी आरोपबारे औपचारिक अनुसन्धान जारी रहेकाले प्रहरीले हालसम्म कुनै निष्कर्ष सार्वजनिक गरेको छैन।
