काठमाडौं । सुनसरीबाट सुरु भएको दुई समुदायबीचको झडपको प्रभाव मधेस प्रदेशका सप्तरीदेखि पर्सासम्म फैलिन थालेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले उच्च तहका अधिकृतलाई प्रभावित क्षेत्रमा परिचालन गरेको छ।
शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालय र सशस्त्र प्रहरी बल प्रधान कार्यालयले एआइजीदेखि एसएसपी तहसम्मका अधिकृतलाई मधेसका विभिन्न जिल्लामा खटाएको हो। खटाइएका अधिकृतहरू सम्बन्धित क्षेत्रमा पुगेर स्थानीय प्रशासन, सुरक्षा निकाय, समुदायका अगुवा तथा सरोकारवालासँग छलफल गर्दै अवस्था सामान्य बनाउन सक्रिय भएका छन्।
बारा र पर्साको सुरक्षा समन्वयका लागि प्रहरी प्रधान कार्यालयले एसएसपी होबिन्द्र बोगटीलाई वीरगन्ज पठाएको छ। प्रहरी प्रधान कार्यालयस्थित राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखामा कार्यरत बोगटीले वीरगन्ज पुगेलगत्तै स्थानीय प्रशासन र सुरक्षा निकायसँग समन्वय बैठक सुरु गरेका छन्।
यस्तै, मधेस प्रदेशको समग्र सुरक्षा अवस्थाको समन्वयका लागि नेपाल प्रहरीका एआइजी हिमालय श्रेष्ठ र सशस्त्र प्रहरी बलका एआइजी गणेश ठाडामगरलाई जनकपुर खटाइएको स्रोतले जनाएको छ। दुवै सुरक्षा निकायका उच्च अधिकारीहरूले प्रभावित जिल्लाहरूको अवस्थाबारे जानकारी लिँदै तनाव साम्य पार्न आवश्यक रणनीति अपनाइरहेका छन्।
पछिल्ला केही दिनयता मधेसका विभिन्न जिल्लामा दुई समुदायबीच उत्पन्न तनाव र प्रदर्शनका घटनालाई मध्यनजर गर्दै सुरक्षा निकायले उच्च सतर्कता अपनाएको जनाएको छ।
