वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–१४ पिपरा चिनिमिलमा कुटपिटबाट घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ। घटनामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ भने अर्का फरार आरोपितको खोजी भइरहेको छ।
प्रहरीका अनुसार असार ३१ गते बिहान करिब १०ः५० बजे सडक विस्तारका क्रममा भत्किएको घरको इँटा हटाउने विषयमा भएको विवादका क्रममा स्थानीय करिब ५० वर्षीया लिलावती देवीमाथि मनोज प्रसाद कुर्मी र लक्की प्रसाद पटेलले कुटपिट गरेका थिए।
गम्भीर घाइते भएकी लिलावती देवीको नारायणी अस्पतालमा उपचारपछि साउन ३२ गते साँझ ५ः४० बजे डिस्चार्ज गरिएको थियो।
तर साउन १४ गते साँझ स्वास्थ्य अवस्था पुनः बिग्रिएपछि उनलाई फेरि सोही अस्पतालमा भर्ना गरिएको थियो। उपचारकै क्रममा साँझ ७ः२० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।
घटनापछि प्रहरी चौकी गण्डकबाट खटिएको प्रहरी टोलीले कुटपिटमा संलग्न लक्की प्रसाद पटेललाई पक्राउ गरेको छ।
घटनामा संलग्न अर्का आरोपित मनोज प्रसाद कुर्मीको खोजी भइरहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी छ।
