काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले पूर्वी तराईका केही स्थानमा धार्मिक सद्भावमा खलल पुर्याउने तथा सर्वसाधारणमा डर र त्रासको वातावरण सिर्जना गर्ने गतिविधिप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्।
आईजीपी कार्कीले सामाजिक एकता र सद्भावमा असर पुग्ने गरी सामाजिक सञ्जालमार्फत अफवाह फैलाउने, उत्तेजक अभिव्यक्ति दिने वा कानुन उल्लंघन गर्ने कुनै पनि गतिविधि कसैको हितमा नहुने बताएका छन्। उनका अनुसार यस्ता कार्यले समाजमा तनाव, अविश्वास र विभाजन मात्रै बढाउने खतरा हुन्छ।
संवेदनशील परिस्थितिमा अफवाह, घृणा र उत्तेजनाभन्दा विवेक, संयम र सामाजिक सद्भावलाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै उनले एकअर्काको अधिकार, आस्था र मर्यादाको सम्मान गर्नु सबै नागरिकको साझा दायित्व भएको उल्लेख गरेका छन्।
‘हाम्रो धर्म, संस्कार र संस्कृति फरक हुन सक्छन्। मुलुक एउटै हो र हाम्रो भावना पनि एउटै छ,’ आईजीपी कार्कीले अपिलमा भनेका छन्।
पूर्वी तराईका केही क्षेत्रमा देखिएको संवेदनशील अवस्थालाई मध्यनजर गर्दै उनले सम्पूर्ण नेपालीलाई संयमता, सहिष्णुता र आपसी सम्मानका साथ एकअर्काको संस्कृति, संस्कार तथा आस्थाको सम्मान गर्दै सामाजिक सद्भाव, राष्ट्रिय एकता र भाइचारा कायम राख्न आग्रह गरेका छन्।
भिडिओ हेर्न यहाँ क्लिक गर्नुहोस्
