दाङ । दाङको तुलसीपुरमा विद्यालय बस रोकेर कक्षा ११ मा अध्ययनरत एक विद्यार्थीमाथि खुकुरी प्रहार गरिएको छ।
तुलसीपुर–६ स्थित ग्रेट अरनिको इङ्लिस सेकेन्डरी स्कुलका अनुसार बिहीबार अपराह्न कक्षा ११ को व्यवस्थापन संकायमा अध्ययनरत विद्यार्थी नयन वलीमाथि मोटरसाइकलमा आएका अज्ञात समूहले आक्रमण गरेको हो।
विद्यालयका अनुसार बिहानी सत्रको कक्षा सकिएपछि विद्यार्थीलाई घर पुर्याउन जाँदै गरेको रा१ख ४६१ नम्बरको विद्यालय बसलाई विद्यालयको पश्चिमतर्फको सडकमा रोकेर आक्रमणकारीहरू बसभित्रै प्रवेश गरेका थिए। त्यसक्रममा उनीहरूले नयन वलीमाथि खुकुरी प्रहार गरी फरार भएका थिए।
आक्रमणबाट घाइते भएका वलीको उपचार भइरहेको विद्यालयले जनाएको छ। उनको स्वास्थ्य अवस्थाबारे विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन।
घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै विद्यालय प्रशासनले दोषीहरूको तत्काल पहिचान गरी कानुनबमोजिम कडा कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेको छ।
घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ।
