सिराहा । सिराहाको गोलबजारमा बिहीबार भएको हिंसात्मक प्रदर्शनका क्रममा नेपाल प्रहरीका एक सहायक हवल्दारलाई गोली लागेको खुलेको छ।
जिल्ला प्रहरी कार्यालय सिराहामा कार्यरत प्रहरी सहायक हवल्दार नारद परियारको दाहिने खुट्टामा गोली लागेको जस्तो देखिएको जिल्ला प्रहरी कार्यालय सिराहाका एसपी बासु पाठकले जानकारी दिए।
एसपी पाठकका अनुसार प्रदर्शन नियन्त्रणका क्रममा परियार घाइते भएका थिए। सुरुमा ढुङ्गा प्रहारबाट चोट लागेको अनुमान गरिएकाले सामान्य उपचार गरिएको थियो। तर दुखाइ कम नभएपछि अस्पतालमा लगेर एक्स–रे गर्दा उनको दाहिने खुट्टाभित्रैसम्म चोट भेटिएको हो।
‘सुरुमा ढुङ्गाले लागेको होला भन्ने लागेको थियो। पछि दुखाइ कम नभएपछि प्रादेशिक अस्पतालमा चेकजाँच गर्दा गोली लागेको जस्तो पाइएपछि अहिले विराटनगर रिफर गरिएको हो,’ एसपी पाठकले बताए।
गोली कसले र कुन हतियारबाट प्रहार गरेको हो भन्ने विषयमा अनुसन्धान भइरहेको छ।
आज गोलबजार क्षेत्रमा भएको प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो। प्रदर्शन उग्र बनेपछि ढुङ्गामुढा, तोडफोड तथा आगजनीका घटना भएका थिए। स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गर्नुका साथै आवश्यक सुरक्षा व्यवस्था कडा पारेको थियो।
उक्त घटनामा एक प्रदर्शनकारीको मृत्यु भएको छ भने प्रहरीसहित दुवै पक्षका दर्जनौं व्यक्ति घाइते भएका छन्। घटनापछि स्थानीय प्रशासनले प्रभावित क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ।
प्रहरीले घटनाको विस्तृत अनुसन्धान सुरु गरेको जनाएको छ।
