जनकपुरधाम । मधेश प्रदेश प्रहरीले सिराहाको गोलबजारमा दुई समुदायबीच भएको झडप तथा प्रहरीबाट गोली चलेको घटनाको छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको छ।
प्रहरी स्रोतका अनुसार प्रहरी उपरीक्षक (एसपी) भेषराज रिजालको नेतृत्वमा गठन गरिएको समितिमा प्रहरी निरीक्षक यज्ञराज भट्ट र प्रहरी सहायक निरीक्षक (असई) गोविन्द झा सदस्य रहेका छन्।
समितिलाई घटनाको वास्तविक अवस्था, गोली चल्नुको कारण, सुरक्षा व्यवस्थापन तथा समग्र घटनाक्रमको अध्ययन गरी विस्तृत प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको छ।
गोलबजारमा भएको साम्प्रदायिक तनावका क्रममा प्रहरीबाट गोली चलेपछि एक जनाको मृत्यु भएको र अन्य केही व्यक्ति घाइते भएको घटनापछि सत्यतथ्य पत्ता लगाउन समिति गठन गरिएको हो।
प्रहरीका अनुसार समितिले घटनास्थलको स्थलगत अध्ययन, सम्बन्धित पक्षसँग छलफल, आवश्यक प्रमाण संकलन तथा घटनाको वस्तुगत विश्लेषण गरी प्रतिवेदन बुझाउनेछ।
त्यसपछि प्रतिवेदनका आधारमा आवश्यक निर्णय र थप कारबाही प्रक्रिया अघि बढाइने जनाइएको छ।
