काठमाडौं । नेपाल प्रहरीमा तीन दशकभन्दा बढी समय सेवा गरी अनिवार्य अवकाशमा जान लागेका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भीमबहादुर दाहाल र प्राविधिक प्रहरी उपरीक्षक (एसपी) अंशुकुमार सिंहलाई छुट्टाछुट्टै कार्यक्रममा सम्मानपूर्वक बिदाइ गरिएको छ।
कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरमा आयोजित कार्यक्रममा प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) शेखर खनालले एसएसपी दाहाललाई सम्मानपत्र तथा मायाको चिनो प्रदान गर्दै बिदाइ गरेका हुन्।
सो अवसरमा डीआईजी खनालले दाहालले प्रहरी संगठनमा रहँदा पुर्याएको समर्पित, अनुकरणीय र उल्लेखनीय योगदानको प्रशंसा गर्दै उनको सेवाभाव, कर्तव्यनिष्ठा र नेतृत्व संगठनका लागि सदैव स्मरणीय रहने बताए।
उनले अवकाशपछिको व्यक्तिगत, पारिवारिक तथा सामाजिक जीवन सुखद, सफल र सम्मानित रहोस् भन्ने शुभकामना पनि व्यक्त गरे।
बिदाइ मन्तव्यका क्रममा एसएसपी दाहालले वर्दीबाट अलग भए पनि नेपाल प्रहरी संगठनप्रतिको आफ्नो माया, सम्मान र आत्मीयता कहिल्यै कम नहुने बताउँदै सेवाकालका अनुभव र सहकर्मीहरूसँग बिताएका अविस्मरणीय क्षणहरू स्मरण गरे।
यस्तै, काठमाडौं उपत्यका प्रहरी कार्यालयमा आयोजित कार्यक्रममा कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सुशील सिंह राठौरले प्राविधिक प्रहरी उपरीक्षक अंशुकुमार सिंहलाई सम्मानपत्र तथा मायाको चिनो प्रदान गर्दै बिदाइ गरे।
वि.सं. २०५३ साउन १५ गते प्राविधिक प्रहरी नायव निरीक्षक पदबाट प्रहरी सेवामा प्रवेश गरेका सिंहले ३० वर्षसम्म लगनशील, इमानदार, कर्तव्यनिष्ठ र उच्च व्यावसायिकताका साथ सेवा पुर्याएका थिए।
सेवाकालमा उनी प्राविधिक प्रहरी निरीक्षक, प्राविधिक प्रहरी नायव उपरीक्षक हुँदै प्राविधिक प्रहरी उपरीक्षक पदमा बढुवा भएका थिए।
कार्यक्रममा एआईजी राठौरले सिंहले प्रहरी संगठनको श्रीवृद्धिमा पुर्याएको योगदानको उच्च प्रशंसा गर्दै अवकाशपछिको जीवन सफल र सम्मानित रहोस् भन्ने शुभकामना व्यक्त गरे।
विराटनगरमा आयोजित कार्यक्रममा कोशी प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठ, प्रहरी वरिष्ठ उपरीक्षक योगेन्द्र सिंह थापा, प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिना, प्रहरी उपरीक्षक नारायणप्रसाद चिमरिया, प्रहरी उपरीक्षक मानबहादुर राईलगायत प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो।
काठमाडौंमा आयोजित कार्यक्रममा प्रहरी नायव महानिरीक्षक गोविन्द थपलिया, सिनियर तथा जुनियर प्रहरी अधिकृतहरू र अन्य प्रहरी कर्मचारीहरूको सहभागिता रहेको थियो।
