काठमाडौं । सिरहाको गोलबजारमा बिहीबार प्रहरीको गोली लागेर ज्यान गुमाएका २० वर्षीय गणेश यादवको घाँटीमै गोली लागेको खुलेको छ। गोलीले उनको घाँटी वारपार छेडेको थियो भने घटनास्थलमै उनको मृत्यु भएको हो।
गोलबजारमा दुई समुदायबीच बढेको तनाव नियन्त्रण गर्न प्रहरीले गोली चलाएको थियो। सोही क्रममा तुल्सीपुरका गणेश यादवको ज्यान गएको हो। घटनामा अर्का युवक सुवास ठाकुर पनि गोली लागेर गम्भीर घाइते भएका छन्। उनलाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाइएको छ।
स्थानीयका अनुसार प्रहरीको गोली लागेर अन्य केही व्यक्ति पनि घाइते भएका छन्। यसअघि सुनसरीको देवानगञ्जस्थित कप्तानगञ्जमा मृत्यु भएका दुई जना र घाइते आठ जनालाई पनि कम्मरभन्दा माथि गोली लागेको थियो।
सुनसरीबाट सुरु भएको साम्प्रदायिक तनाव मधेशका अन्य जिल्लामा फैलिँदै जाँदा गोलबजार र लहान क्षेत्रमा होटल, व्यापारिक प्रतिष्ठान, बस तथा अन्य सवारीसाधनमा तोडफोड र आगजनी भएको छ। गोलबजारमा पार्किङमा रहेका ११ वटा मोटरसाइकलमा आगजनी गरिएको छ भने अवस्था नियन्त्रणमा लिन प्रशासनले कर्फ्यु जारी गरेको छ।
