काठमाडौं । सुनसरीको देवानगञ्जस्थित कप्तानगञ्जमा दुई समुदायबीच सुरु भएको तनाव पाँच दिनपछि गृहमन्त्री सुधन गुरुङ बिहीबार अपराह्न सुनसरी जाने भएका छन्। यसअघि उनले आफ्ना पीए जेम्स कार्कीलाई मात्र पठाएर काठमाडौंमै बसेका थिए।
सुनसरीबाट सुरु भएको तनाव मधेश प्रदेशका अन्य जिल्लासम्म फैलिन थालेपछि प्रधानमन्त्री वालेन्द्र शाहले गृहमन्त्रीलाई घटनास्थल पठाउने निर्णय गरेका हुन्। बिहीबार बसेको राष्ट्रिय सुरक्षा समितिको बैठकले देशभरको शान्ति–सुरक्षा अवस्था सुधार्न विशेष पहल गर्ने निर्णय गरेको थियो।
यसअघि प्रधानमन्त्री शाह र गृहमन्त्री गुरुङले दुवै प्रहरी संगठनका आईजीपीसँग छलफल गरेका थिए। आईजीपीहरूले तनाव संवादबाट समाधान गर्नुपर्ने सुझाव दिए पनि सरकारको ध्यान गोली चलाउनेको खोजीतर्फ बढी केन्द्रित भएको आरोपबीच तनाव फैलिँदै सिरहाको गोलबजारमा २० वर्षीय गणेश यादवको मृत्यु भएको छ।
