काठमाडौं । सिरहाको गोलबजारमा जारी प्रदर्शनका क्रममा गोली लागेर एक युवकको मृत्यु भएको छ।
मृत्यु हुनेमा सिरहाको मिर्चैया नगरपालिका–स्थित तुलसीपुरका करिब १८–१९ वर्षीय गणेश यादव रहेका छन्। सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी चेतराज बरालका अनुसार कर्फ्यू जारी रहेका बेला प्रदर्शनका क्रममा उनलाई गोली लागेको थियो।
घटनापछि प्रदर्शनकारीहरूले प्रहरीको गोली लागेर यादवको मृत्यु भएको दाबी गर्दै शव सडकमै राखेर विरोध प्रदर्शन गरिरहेका छन्।
उनीहरूले सुरक्षाकर्मीलाई शव उठाउन समेत दिएका छैनन्। यता प्रहरीले भने आफूहरूले गोली नचलाएको दाबी गरेको छ।
सहायक प्रमुख जिल्ला अधिकारी बरालका अनुसार प्रहरीले भीड नियन्त्रणका लागि हवाई फायर र अश्रुग्यास (टियर ग्यास) मात्र प्रयोग गरेको जनाएको छ।
प्रहरीका अनुसार प्रदर्शनका क्रममा थप एक जना घाइते भएका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
