विराटनगर । सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा आइतबार राति भएको गोलीकाण्डमा घाइते भएका अर्का एक युवकको पनि उपचारका क्रममा मृत्यु भएको छ। यससँगै उक्त घटनामा ज्यान गुमाउनेको संख्या दुई पुगेको छ।
प्रहरीका अनुसार देवानगन्ज–३ का २२ वर्षीय जयप्रकाश मेहताको बिहीबार विराटनगरस्थित न्युरो अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो। पेटमा गोली लागेर गम्भीर घाइते भएका उनको शल्यक्रियापछि पनि स्वास्थ्य अवस्थामा सुधार नआएपछि निधन भएको प्रहरीले जनाएको छ।
यसअघि सोही घटनामा देवानगन्ज–४ का २५ वर्षीय ओमप्रकाश मेहताको आइतबार राति नै उपचारका क्रममा मृत्यु भएको थियो।
कप्तानगन्जमा दुई समुदायबीच उत्पन्न विवाद हिंसात्मक झडपमा परिणत भएपछि स्थिति नियन्त्रणमा लिन सशस्त्र प्रहरीले गोली चलाएको थियो। घटनामा गोली लागेर १० जना घाइते भएका थिए। तीमध्ये दुई जनाको मृत्यु भइसकेको छ भने अन्य आठ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
उपचाररतमध्ये देवानगन्ज–३ का रवीन्द्रकुमार मेहता र अमित यादवको अवस्था अझै गम्भीर रहेको अस्पताल स्रोतले जनाएको छ।
घटनापछि सुनसरीका विभिन्न स्थानमा आगजनी, तोडफोड, लुटपाट र आक्रमणका घटना भएपछि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको थियो।
सुरक्षा निकायको कडा परिचालनपछि अवस्था क्रमशः सामान्य बन्दै गए पनि सम्भावित अप्रिय घटना रोक्न कर्फ्यु आदेश अझै कायम रहेको प्रहरीले जनाएको छ।
