काठमाडौं । रौतहट क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य गणेश पौडेलमाथि कालोमसी प्रहार तथा दुर्व्यवहार गरिएको घटनामा संलग्न दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ। घटनामा संलग्न अन्य व्यक्तिको खोजी कार्य भने जारी रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार साउन ७ गते साँझ गढीमाई नगरपालिका–७ पर्सा गाउँस्थित मठ मन्दिर नजिक सांसद पौडेल जनतासँग गुनासो सुनुवाइ कार्यक्रममा सहभागी भइरहेका बेला केही व्यक्तिले ‘मधेश मुक्ति अभियान जिन्दावाद’ लगायतका नारा लेखिएका पर्चा छर्दै पछाडिबाट कालोमसी प्रहार गरेका थिए। घटनापछि उनीहरू फरार भएका थिए।
घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रौतहट र इलाका प्रहरी कार्यालय गरुडाबाट संयुक्त प्रहरी टोली परिचालन गरिएको थियो। सोही क्रममा बुधबार दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी बसन्त गौतमले जानकारी दिए।
पक्राउ पर्नेमा गढीमाई नगरपालिका–५ का २० वर्षीय शेख इवरान र गढीमाई नगरपालिका–३ गम्हरिया गाउँका १९ वर्षीय इर्फान अन्सारी रहेका छन्।
उनीहरूमाथि ‘अपमानजनक तथा अमानवीय व्यवहार गर्न नहुने’ कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
रौतहट जिल्ला अदालतबाट तीन दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहेको र घटनामा संलग्न फरार अन्य व्यक्तिको खोजीलाई तीव्र बनाइएको प्रहरीले जनाएको छ।
