काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीको पछिल्लो सुरक्षा अवस्था तथा सामाजिक सद्भावसँग सम्बन्धित चुनौतीबारे सुरक्षा निकायका प्रमुखसँग विस्तृत ब्रिफिङ लिएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको छलफलमा गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा प्रधानमन्त्री शाहले नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्की तथा सशस्त्र प्रहरी बल, नेपालका प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलसँग छुट्टाछुट्टै भेटवार्ता गर्दै सुनसरीको पछिल्लो वस्तुस्थितिबारे जानकारी लिएका हुन्।
छलफलका क्रममा प्रधानमन्त्रीले जिल्लाको शान्ति–सुरक्षा अवस्था, सामाजिक सद्भाव कायम राख्ने उपाय तथा सम्भावित सुरक्षा चुनौतीबारे जानकारी लिँदै आवश्यक सुरक्षा तयारीबारे निर्देशन दिएको जनाइएको छ।
प्रधानमन्त्री शाहले नागरिकको जिउधनको सुरक्षा सुनिश्चित गर्न, शान्ति व्यवस्था कायम राख्न तथा सामाजिक सद्भाव बिथोल्ने गतिविधिमाथि कडा निगरानी राख्न सुरक्षा निकायलाई निर्देशन दिएका छन्। साथै, परिस्थितिलाई मध्यनजर गर्दै सुरक्षाकर्मीलाई उच्च सतर्कताका साथ प्रभावकारी रूपमा परिचालन गर्न उहाँले सुरक्षा प्रमुखहरूलाई आग्रह गरेका छन्।
सरकारले सुनसरीको सुरक्षा अवस्थालाई गम्भीर रूपमा लिएको भन्दै आवश्यक समन्वय र निगरानीलाई थप प्रभावकारी बनाइने पनि छलफलमा जोड दिइएको छ।
