काठमाडौं । बाँकेको नरैनापुर गाउँपालिका–४ स्थित सशस्त्र प्रहरी बल (एपीएफ) सीमा सुरक्षा गुल्मको ब्यारेकमा कार्यरत एक हवल्दार मृत अवस्थामा फेला परेका छन्।
मृतक कैलालीको गौरीगंगा नगरपालिका–५ चौमालाका ३८ वर्षीय घनश्याम ढकाल रहेको प्रहरीले जनाएको छ। उनी बुधबार आफ्नै सुत्ने कोठाभित्र झुन्डिएको अवस्थामा फेला परेका थिए।
घटनाबारे जानकारी पाएलगत्तै प्रहरी घटनास्थल पुगेर मुचुल्का, शव परीक्षण तथा आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाएको छ। प्रारम्भिक रूपमा उनी झुन्डिएको अवस्थामा फेला परे पनि मृत्युको वास्तविक कारण भने पोस्टमार्टम रिपोर्ट र अनुसन्धानपछि मात्रै खुल्ने प्रहरीले जनाएको छ।
हाल घटनाका सबै पक्षबारे अनुसन्धान भइरहेको र मृत्युको कारणबारे आधिकारिक निष्कर्ष सार्वजनिक भइनसकेको प्रहरी स्रोतले जनाएको छ।
