बारा । बाराको पथलैयामा ट्राफिक प्रहरीले नियमित सवारी जाँचका क्रममा भारतीय नम्बर प्लेटको कारबाट ८० बोतल अनोरेक्स (ONEREX) लागूऔषध बरामद गरेको छ। घटनामा संलग्न चालकलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाइएको छ।
बुधबार दिउँसो जितपुर–सिमरा उपमहानगरपालिका–१ पथलैया क्षेत्रमा पूर्व–पश्चिम राजमार्ग हुँदै हेटौंडातर्फ जाँदै गरेको भारतीय नम्बरको कारलाई कागजात परीक्षणका लागि ट्राफिक प्रहरीले रोकेको थियो। प्रारम्भिक जाँचका क्रममा शंका लागेपछि कारको विस्तृत खानतलासी गरिएको थियो।
खानतलासीका क्रममा कारको पछाडिको सिटमुनि लुकाइराखिएको १०० एमएलका ८० बोतल अनोरेक्स बरामद भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाले जनाएको छ। त्य
सपछि चालक, कार, बरामद लागूऔषध तथा चालकको मोबाइल नियन्त्रणमा लिई आवश्यक अनुसन्धान र कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय सिमरा, बारामा बुझाइएको छ।
प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाका प्रवक्ता डीएसपी नवराज न्यौपानेले स्कुपखबरसँग कुरा गर्दै अनुसन्धान जारी रहेकाले पक्राउ परेका चालकको परिचय र कारको नम्बर तत्काल सार्वजनिक नगरिएको बताए।
उनका अनुसार घटनाको अनुसन्धान प्रभावित हुन सक्ने भएकाले प्रारम्भिक विवरण मात्र सार्वजनिक गरिएको हो। प्रहरीले लागूऔषधको स्रोत, गन्तव्य तथा यस घटनामा अन्य व्यक्तिको संलग्नता भए–नभएको विषयमा समेत अनुसन्धान अघि बढाएको जनाएको छ।
