काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले प्रभु बैंककी मुख्य बिजनेस अफिसर (सिबिओ) रश्मी पन्तलाई बैंकिङ कसुरसम्बन्धी मुद्दामा पक्राउ गरेको छ।
सीआईबीका अनुसार रुपन्देहीस्थित एशियन भिलेज रिसोर्ट प्रालिलाई प्रवाह गरिएको ४८ करोड रुपैयाँ कर्जामा अनियमितता भएको आशंकापछि अनुसन्धानका क्रममा पन्तलाई नियन्त्रणमा लिइएको हो। पक्राउपछि उनलाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालत उपस्थित गराइएको छ।
यसअघि सोही कर्जा प्रकरणमा एशियन भिलेज रिसोर्ट प्रालिका अध्यक्ष शशिधर शर्मा पौडेल पनि अनुसन्धानका लागि सीआईबीको नियन्त्रणमा रहेका छन्।
अनुसन्धानमा संलग्न अधिकारीहरूका अनुसार नेपाल राष्ट्र बैंकको सुपरीवेक्षण विभागले २०८३ असारमा गरेको विशेष स्थलगत निरीक्षणका क्रममा उक्त कर्जा प्रवाहमा शंकास्पद गतिविधि देखिएपछि थप अनुसन्धान अघि बढाइएको हो।
सीआईबीले कर्जा स्वीकृति प्रक्रिया, बैंकका जिम्मेवार अधिकारीहरूको भूमिका तथा कर्जा प्रवाहमा प्रचलित कानुनी प्रक्रिया पालना भए/नभएको विषयमा अनुसन्धान जारी रहेको जनाएको छ।
