काठमाडौं । नेपाल प्रहरीमा एसपी तहका अधिकृतहरूको जिम्मेवारी हेरफेर गरिएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी सुदीपराज पाठकलाई प्रहरी प्रधान कार्यालय, नक्साल तानिएको छ भने उनको स्थानमा जिल्ला प्रहरी परिसर काठमाडौंमा कार्यरत एसपी पवनकुमार भट्टराईलाई पर्सा प्रहरी प्रमुखको जिम्मेवारी दिइएको छ।
भट्टराईको स्थानमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा कार्यरत एसपी दानबहादुर थापालाई काठमाडौं परिसर सरुवा गरिएको छ।
प्रहरी प्रधान कार्यालयले संगठनको नियमित जिम्मेवारी व्यवस्थापनअन्तर्गत तीनै जना एसपीको कार्यस्थल परिवर्तन गरेको जनाएको छ। नयाँ जिम्मेवारीअनुसार उनीहरूले तत्काल हाजिर भई कामकाज सम्हाल्नेछन्।
प्रहरी प्रधान कार्यालयले यसलाई नियमित सरुवा भने पनि वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमण र त्यसपछिको सुरक्षा व्यवस्थापनको विषयमा चर्को आलोचना भइरहेका बेला पर्सा प्रहरी नेतृत्व परिवर्तन गरिएको हो।
उक्त घटनापछि चिकित्सकहरूले देशभर आकस्मिकबाहेक (ओपीडी) सेवा बन्द गरेका थिए, जसका कारण हजारौं बिरामी प्रभावित भएका थिए। चिकित्सकहरूको सुरक्षा सुनिश्चित गर्न नसकेको भन्दै पर्सा प्रहरीको भूमिकामाथि समेत प्रश्न उठेको थियो।
