काठमाडौं । कीर्तिपुरस्थित नेपाल एपीएफ स्कुलमा करोडौँ रुपैयाँको आर्थिक अपचलन प्रकरण सेलाउन नपाउँदै सशस्त्र प्रहरी बल (एपीएफ) को अर्को निकाय पनि छानबिनको घेरामा परेको छ।
यसपटक काठमाडौंको बलम्बुस्थित नेपाल एपीएफ अस्पतालमा देखिएको अनियमितताको आशंकापछि सशस्त्र प्रहरी मुख्यालयले छानबिन समिति गठन गरेको हो।
मुख्यालय स्रोतका अनुसार अस्पतालमा आर्थिक तथा प्रशासनिक गतिविधिसँग सम्बन्धित विषयमा गुनासो र शंकास्पद गतिविधि देखिएपछि सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) गंगाराम श्रेष्ठको नेतृत्वमा छानबिन समिति गठन गरिएको छ। समितिलाई अस्पतालका विभिन्न पक्षको अध्ययन गरी प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको स्रोतको भनाइ छ।
बलम्बुस्थित नेपाल एपीएफ अस्पताल लामो समयदेखि डीआईजी डा. रूपक महर्जनको नेतृत्वमा सञ्चालन हुँदै आएको छ। अस्पतालको आधिकारिक विवरणअनुसार उनी हाल अस्पताल इन्चार्जको जिम्मेवारीमा छन्।
छानबिन समितिले कुन–कुन विषयमा अनुसन्धान गरिरहेको छ भन्नेबारे सशस्त्र प्रहरी मुख्यालयले औपचारिक विवरण सार्वजनिक गरेको छैन। यद्यपि अस्पतालको प्रशासन, आर्थिक कारोबार तथा सेवा सञ्चालनसँग सम्बन्धित विभिन्न विषयमा अनुसन्धान केन्द्रित रहेको स्रोतको दाबी छ।
सशस्त्र प्रहरीभित्र पछिल्लो समय एकपछि अर्को निकायमा अनियमिततासम्बन्धी विषय बाहिर आउन थालेपछि संगठनभित्रको आन्तरिक सुशासनमाथि समेत प्रश्न उठ्न थालेको छ।
यसअघि कीर्तिपुरस्थित नेपाल एपीएफ स्कुलमा भएको भनिएको करोडौँ रुपैयाँको आर्थिक अपचलन प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लेखा शाखाकी इन्स्पेक्टर कल्पना गुरुङ र उनका प्रेमी लीलालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो। उक्त घटनाले सशस्त्र प्रहरीभित्र आर्थिक अनुशासन र निगरानी प्रणालीमाथि गम्भीर प्रश्न उठाएको थियो।
एपीएफ स्कुलको प्रकरणको अनुसन्धान जारी रहेका बेला अस्पतालमा समेत छुट्टै छानबिन समिति गठन हुनुले संगठनभित्र वित्तीय तथा प्रशासनिक पारदर्शितामाथि थप बहस सुरु भएको छ। एउटै संगठनअन्तर्गतका दुई महत्वपूर्ण संस्थामा छोटो अवधिमै छानबिन हुन थालेपछि निगरानी संयन्त्र प्रभावकारी थियो कि थिएन भन्ने प्रश्न पनि उठ्न थालेको छ।
नेपाल एपीएफ अस्पताल सशस्त्र प्रहरीका बहालवाला तथा अवकाशप्राप्त कर्मचारी, उनीहरूका परिवारका सदस्य तथा सर्वसाधारणलाई समेत स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले सञ्चालन हुँदै आएको प्रमुख स्वास्थ्य संस्था हो। अस्पताल सन् २००३ मा स्तरोन्नति भई सञ्चालनमा आएको र हाल बलम्बुस्थित आफ्नै भवनबाट विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ।
छानबिन समितिले प्रतिवेदन बुझाएपछि मात्रै अस्पतालमा देखिएको भनिएको गडबढीको वास्तविक प्रकृति, संलग्नता र जिम्मेवारीबारे स्पष्ट हुने अपेक्षा गरिएको छ। हालसम्म कुनै व्यक्ति दोषी ठहर भइसकेको छैन भने छानबिन प्रक्रिया जारी रहेको सशस्त्र प्रहरी स्रोतले जनाएको छ।
