काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरीको देवानगञ्ज घटनापछि उत्पन्न संवेदनशील परिस्थितिमा प्रधानमन्त्रीको भूमिकामाथि प्रश्न उठाउँदै, ‘यस्तो बेलामा पनि प्रधानमन्त्रीले भाउ खाएर, ठालु पल्टेर बस्ने हो ?’ भन्दै सरकारको नेतृत्वप्रति असन्तुष्टि व्यक्त गरेका छन्।
सिंहदरबारमा रास्वपाले आह्वान गरेको सर्वदलीय बैठकमा सहभागी भएर बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै थापाले अहिलेको अवस्थामा सरकारले सक्रिय नेतृत्व लिन नसकेको टिप्पणी गरे। उनले सरकारलाई प्रश्न गर्दै भने, ‘यतिखेर सरकार के गर्दैछ ? कहाँ छ ?’
थापाले सरकारले समन्वयकारी भूमिका खेल्न नसकेको आरोप लगाउँदै भने, ‘सरकार बन्दुकको गोलीमा मात्र सीमित हुनुहुँदैन, स्टाटसमा मात्र भेटिनुहुँदैन। सरकार अभिभावक मात्र होइन, लिडर पनि हो। लिडरको सबैभन्दा ठूलो शक्ति भनेको सबैलाई एक ठाउँमा ल्याउन सक्नु र विश्वासको वातावरण बनाउन सक्नु हो।’
उनले यस्तो अवस्थामा प्रधानमन्त्रीले नै तत्काल सर्वदलीय बैठक बोलाएर राष्ट्रपतिसँग भेटघाट गर्ने, प्रदेश तथा स्थानीय सरकारसँग संवाद गर्ने र सबै पक्षलाई समेटेर साझा पहल अघि बढाउनुपर्ने बताए।
सरकारले पहल नगरे पनि रास्वपाले समयमै सर्वदलीय बैठक आयोजना गरेको भन्दै उनले धन्यवाद व्यक्त गरे। कांग्रेसका तर्फबाट पार्टीको धारणा बैठकमा राखिएको पनि उनले जानकारी दिए।
थापाले धार्मिक सहिष्णुता र सामाजिक सद्भाव नेपाली समाजको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै सुनसरीजस्ता संवेदनशील क्षेत्रमा पनि स्थानीय तहसम्म सर्वदलीय संयन्त्र सक्रिय हुनुपर्ने धारणा राखे। त्यसका लागि नेपाली कांग्रेसले आवश्यक भूमिका निर्वाह गर्न तयार रहेको उनले बताए।
सिंहदरबारमा सर्वदलीय बैठक जारी रहे पनि कांग्रेसका पूर्वउपप्रधानमन्त्री तथा नेता गोपालमान श्रेष्ठको निधनपछि आयोजित श्रद्धाञ्जली कार्यक्रममा सहभागी हुन थापा बैठकबाट बाहिरिएका हुन्। बैठकमा कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे भने सहभागी रहेका छन्।
