काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले सुनसरीको देवानगञ्जमा भएको घटनापछि सरकार, नेपाल प्रहरी र सुरक्षा संयन्त्रमाथि गम्भीर आरोप लगाएका छन्। मधेशमा सामाजिक तथा साम्प्रदायिक सद्भाव कमजोर बनाउने वातावरण सिर्जना भएको दाबी गर्दै उनले राज्य संयन्त्रको भूमिकामाथि प्रश्न उठाएका हुन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै राउतले भने, ‘नेपाली सेना, प्रहरी र शासकहरूले त चाहेकै यही छन् कि मधेशी, आदिवासी–जनजाति, मुस्लिम, थारु र दलित कहिले एक नहोस्, मधेशमा दङ्गा फैलियोस् र काटमार होस्।’
उनले सामाजिक सञ्जालमा द्वेषपूर्ण अभिव्यक्ति, हिंसात्मक गतिविधि र उक्साहटपूर्ण सामग्री खुलेआम फैलिँदा पनि सम्बन्धित निकाय प्रभावकारी रूपमा सक्रिय नभएको आरोप लगाए।
राउतले भने, ‘आज कुनै एउटा मन्त्रीको बारेमा केही लेख्नुस्, एक घण्टापछि प्रहरी हिरासतमा पुग्न सकिन्छ। तर समुदाय–समुदायबीच घृणा फैलाउने, हिंसामा उक्साउने गतिविधिमा सम्बन्धित निकायहरू मूकदर्शक बनेका छन्।’
मधेशमा देखिएका विवाद र त्यसको व्यवस्थापनमा सरकारको नीति प्रभावकारी हुन नसकेको टिप्पणी गर्दै उनले अहिलेको मुख्य आवश्यकता शान्ति, मेलमिलाप र आपसी विश्वासको वातावरण निर्माण गर्नु रहेको बताए।
उनले भने, ‘अहिले जुन समाजमा हिंसात्मक द्वन्द्व रोपिँदैछ र अराजकता फैलिँदैछ, त्यसको घाउ भर्न र समाजमा विश्वास पुनः जाग्न कति वर्ष वा दशक लाग्ला ?’
राउतले वर्तमान परिस्थितिमा सबै पक्षले संयमता अपनाउन, संवादमार्फत समाधान खोज्न तथा समाजमा मेलमिलाप र आपसी विश्वास कायम गर्न आवश्यक रहेको बताएका छन्।
