काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालले भारतबाट अवैध रूपमा काठमाडौं भित्र्याइएको ठूलो परिमाणको ट्रामाडोल क्याप्सुलसहित तीन जनालाई नियन्त्रणमा लिएको छ।
एपीएफ इन्टेलिजेन्स ब्युरोबाट खटिएको टोलीले २०८३ साउन १२ गते काठमाडौं महानगरपालिका–१४ स्थित गाङखेल क्षेत्रमा विशेष सूचनाका आधारमा कारबाही गरेको हो।
कारबाहीका क्रममा भारतबाट नेपालका विभिन्न सीमावर्ती क्षेत्र हुँदै काठमाडौं ल्याइएको एक लाख २० हजार थान ट्रामाडोल क्याप्सुल बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
टोलीले ट्रामाडोल ओसारपसारमा प्रयोग गरिएका दुईवटा सवारीसाधन र अन्य सामग्रीसमेत नियन्त्रणमा लिएको छ। अवैध औषधि ओसारपसारमा संलग्न रहेको आरोपमा तीन जनालाई पक्राउ गरिएको छ। उनीहरूको नाम र ठेगाना भने तत्काल सार्वजनिक गरिएको छैन।
नियन्त्रणमा लिइएका व्यक्ति, बरामद क्याप्सुल, सवारीसाधन तथा अन्य सामग्री आवश्यक अनुसन्धान एवं कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अघि बढाइएको बताइएको छ।
घटनामा संलग्न अन्य व्यक्ति तथा ट्रामाडोल तस्करीको सञ्जालबारे थप अनुसन्धान भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।
