काठमाडौं । सुनसरीको देवानगन्जमा भएको हिंसात्मक घटनापछि इलाका प्रहरी कार्यालय देवानगन्जका प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) राकेश राईको जिम्मेवारी परिवर्तन गरिएको छ।
राईको स्थानमा प्रहरी निरीक्षक प्रकाश पराजुलीलाई इलाका प्रहरी कार्यालय देवानगन्जको प्रमुखको जिम्मेवारी दिएको जनाएको छ। घटनाका क्रममा घाइते भएका इन्स्पेक्टर राईलाई दुहबीस्थित नेपाल प्रहरी विशेष सुरक्षा गणमा काज सरुवा गरिएको छ।
देवानगन्ज घटनापछि सुरक्षा संयन्त्रमा व्यापक फेरबदल भइरहेको छ। यसअघि सुनसरीका प्रमुख जिल्ला अधिकारी (सीडीओ), कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख, सुनसरी जिल्ला प्रहरी कार्यालयका प्रमुखसहित अन्य सुरक्षा अधिकारीहरूको समेत जिम्मेवारी परिवर्तन गरिएको थियो।
घटनापछि सुरक्षा व्यवस्थापन र घटनाको समग्र मूल्यांकनका आधारमा सम्बन्धित अधिकारीहरूको जिम्मेवारी हेरफेर गरिएको जनाइएको छ।
