काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले मानव बेचबिखनको स्वरूप प्रविधिसँगै झन् जटिल र संगठित बन्दै गएको भन्दै यसको नियन्त्रणका लागि राज्य, सुरक्षा निकाय, नागरिक समाज र अन्तर्राष्ट्रिय समुदायबीच समन्वित तथा सामूहिक प्रयास अपरिहार्य रहेको बताएका छन्।
मंगलबार आयोजित ‘नेपालमा मानव बेचबिखनविरुद्ध लड्न सामूहिक प्रयास’ विषयक कार्यक्रममा बोल्दै आईजीपी कार्कीले मानव बेचबिखन अब परम्परागत यौन शोषण, जबरजस्ती श्रम, जबरजस्ती विवाह वा बालबालिकाको बेचबिखनमा मात्र सीमित नरहेको बताए।
उनका अनुसार पछिल्ला वर्षहरूमा आकर्षक तलब र सुविधायुक्त रोजगारीको प्रलोभन देखाएर व्यक्तिलाई विदेश पुर्याउने, त्यसपछि बन्धक बनाई डिजिटल प्लेटफर्ममार्फत जबरजस्ती अनलाइन ठगी तथा साइबर स्क्याममा संलग्न गराउने प्रवृत्ति उल्लेखनीय रूपमा बढेको छ।
‘पछिल्ला वर्षहरूमा आकर्षक रोजगारीको प्रलोभनमा पारी विदेश लैजाने र बन्धक बनाई डिजिटल प्लेटफर्ममार्फत जबरजस्ती अनलाइन ठगी तथा साइबर स्क्याम गर्न लगाइने घटनाहरू बढेका छन्,’ आईजीपी कार्कीले भने।
उनले मानव बेचबिखन अहिले अन्तर्राष्ट्रिय आपराधिक सञ्जालसँग जोडिएको संगठित अपराधका रूपमा विकसित भइसकेको उल्लेख गर्दै यसलाई परम्परागत दृष्टिकोणबाट मात्र विश्लेषण गर्न नहुने बताए।
उनका अनुसार मानव बेचबिखन, साइबर अपराध, आर्थिक अपराध तथा अन्तर्राष्ट्रिय संगठित अपराधबीचको अन्तरसम्बन्धलाई ध्यानमा राख्दै अनुसन्धान, नियन्त्रण र नीतिगत रणनीति तयार गर्न आवश्यक छ।
आईजीपी कार्कीले बदलिँदो चुनौतीसँग प्रभावकारी रूपमा जुध्न कानुनी संरचना, प्राविधिक क्षमता तथा अन्तर्राष्ट्रिय सहकार्यलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिए। साथै, मानव बेचबिखनविरुद्धको अभियान सफल बनाउन सबै सरोकारवाला निकायको सक्रिय र समन्वित सहभागिता अपरिहार्य रहेको उनको भनाइ थियो।
