काठमाडौं । बागलुङ प्रहरीले १७ वर्षीय किशोर लजिन थापाको हत्या प्रकरणको सफल अनुसन्धान गर्दै घटनामा संलग्न चार जनालाई पक्राउ गरेको छ।
घटनाको ९ दिनपछि शव फेला पार्नेदेखि हत्याको रहस्य उजागर गर्नेसम्मको अनुसन्धान जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक (एसपी) फणिन्द्र प्रसाईंको नेतृत्वमा सम्पन्न भएको हो।
प्रहरी अनुसन्धानअनुसार साउन १ गते जन्मदिन मनाउने बहानामा बोलाइएका लजिनलाई साथीहरूले घर पुर्याइदिने भन्दै एकान्त स्थानमा लगेका थिए।
त्यहाँ उनीसँग रहेको आइफोन लुट्ने योजनासहित सुरुमा मुक्काले आक्रमण गरी बेहोस बनाइएको र त्यसपछि ढुंगाले प्रहार गरेर हत्या गरिएको खुलेको छ। हत्या गरेपछि शव मनेखोलाको खोल्सामा लगेर फालिएको थियो।
एसपी प्रसाईंका अनुसार अनुसन्धान टोलीले घटनास्थलको सूक्ष्म विश्लेषण, प्राविधिक प्रमाण, शंकास्पद व्यक्तिमाथिको निगरानी तथा बयानका आधारमा घटनाको रहस्य पत्ता लगाएको हो।
प्रहरीलाई भ्रममा पार्न मृतकको मोबाइल शव नजिकै छाडिएको र अन्य प्रमाण लुकाउने प्रयास गरिए पनि अनुसन्धानबाट सत्य बाहिर ल्याउन सफलता मिलेको उनले बताए।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले रेमबहादुर बिक, सुदीप बिक, असिम वन र ददी परियारलाई पक्राउ गरेको छ। पक्राउ परेकामाथि कर्तव्य ज्यान सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
लजिन साउन २ गतेदेखि सम्पर्कविहीन भएपछि परिवारले बेपत्ताको उजुरी दिएको थियो।
त्यसपछि जिल्ला प्रहरी कार्यालय बागलुङको टोलीले प्रदेश प्रहरी कार्यालय पोखराबाट आएका प्राविधिक विशेषज्ञ र तालिमप्राप्त खोजी कुकुरको सहयोगमा निरन्तर अनुसन्धान सञ्चालन गरेको थियो। सोही अनुसन्धानका क्रममा घटनाको ९ दिनपछि मनेखोलाको खोल्साबाट शव फेला परेको हो।
बागलुङ प्रहरीले छोटो समयमै जटिल हत्या प्रकरणको रहस्य उजागर गर्दै अभियुक्तहरूलाई कानुनी दायरामा ल्याएको भन्दै स्थानीयवासीले अनुसन्धान टोलीको प्रशंसा गरेका छन्।
