धनगढी । जिल्ला प्रहरी कार्यालय बाजुराकी प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) शैलेश्वरी बोहरा असार महिनाको कार्यसम्पादन मूल्यांकनमा देशभरका हिमाली जिल्लामा कार्यरत डीएसपीमध्ये उत्कृष्ट घोषित भएकी छन्।
प्रहरी प्रधान कार्यालयले गरेको मासिक कार्यसम्पादन मूल्यांकनमा व्यावसायिक, अनुशासित र परिणाममुखी नेतृत्वका आधारमा बोहरालाई उत्कृष्ट प्रहरी प्रमुखका रूपमा छनोट गरिएको हो।
मूल्यांकनअनुसार डीएसपी बोहराले अपराध अनुसन्धान, शान्ति–सुरक्षा व्यवस्थापन तथा स्थानीय तहसहित विभिन्न सरकारी निकायसँग प्रभावकारी समन्वय कायम गर्दै उल्लेखनीय कार्यसम्पादन गरेकी छन्।
भौगोलिक रूपमा विकट बाजुरा जिल्लामा उनले घरेलु हिंसा, बालविवाह, मदिरा नियन्त्रण तथा अवैध गाँजा फडानीजस्ता सामाजिक विकृतिविरुद्ध प्रहरी टोलीलाई सक्रिय रूपमा परिचालन गर्दै प्रभावकारी नेतृत्व प्रदान गरेकी थिइन्।
त्यसैगरी, हिमाली गाउँपालिका–३ को लाम्पाटा क्षेत्रमा भएको सीमा विवाद तथा झडपको घटनामा उनी स्वयं घटनास्थलमा पुगेर अनुसन्धान र सुरक्षा व्यवस्थापनको नेतृत्व गरेकी थिइन्। उक्त घटनाको प्रभावकारी व्यवस्थापनले उनको कार्यक्षमताको थप प्रशंसा बटुलेको थियो।
डीएसपी बोहराका अनुसार असार महिनामा हिमाली जिल्लामध्ये उत्कृष्ट कार्यसम्पादन गरेको मूल्यांकनका आधारमा प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी कार्यालय बाजुरालाई सम्मानित गरेको हो।
प्रहरी संगठनभित्र मासिक कार्यसम्पादन मूल्यांकनलाई उत्कृष्ट सेवा, प्रभावकारी नेतृत्व र नागरिकमुखी प्रहरी सेवाको प्रोत्साहनका रूपमा हेरिने गरिएको छ।
