जनकपुरधाम । धनुषामा २०८३ भदौ महिनाका लागि प्रहरी वरिष्ठ नायव निरीक्षक सन्तोष गोले ‘महिनाको उत्कृष्ट प्रहरी’ घोषित भएका छन् ।
मधेश प्रदेश प्रहरी कार्यालयका अनुसार ‘महिनाको उत्कृष्ट प्रहरी छनोट कार्यविधि– २०८३’ बमोजिम प्रहरी चौकी गिद्वा तिनकौरियामा कार्यरत वरिष्ठ सई गोलेलाई भदौ महिनाको “Best Province Police Of The Month” घोषणा गरिएको हो ।
वरिष्ठ सई गोलेले भदौ महिनामा चोरी तथा अवैध हतियारसम्बन्धी घटनाको अनुसन्धान र नियन्त्रणमा सक्रिय भूमिका निर्वाह गरेका थिए । उनको कार्यक्षेत्रमा भएका विभिन्न घटनामा संलग्न व्यक्तिलाई पक्राउ गरी कानुनी दायरामा ल्याउन तथा अवैध हतियार बरामद गर्न महत्वपूर्ण भूमिका खेलेको मधेश प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरी संगठनको नीति निर्देशनअनुसार जिम्मेवारीप्रति अनुशासित, लगनशील, इमानदार र कर्तव्यनिष्ठ रही उत्कृष्ट कार्यसम्पादन गरेको मूल्यांकनका आधारमा वरिष्ठ सई गोलेलाई भदौ महिनाको उत्कृष्ट प्रहरी छनोट गरिएको मधेश प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
