काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) किरण राउत असार महिनाको उत्कृष्ट ट्राफिक प्रहरी घोषित भएका छन्।
ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउँदै प्रविधिमैत्री सेवा प्रवाह, जनमैत्री कार्यसम्पादन तथा उत्कृष्ट व्यावसायिक योगदान पुर्याएको मूल्यांकनका आधारमा राउतलाई उत्कृष्ट ट्राफिक प्रहरी घोषणा गरिएको हो।
कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेशप्रसाद काफ्लेले सम्मानस्वरूप प्रशंसापत्र प्रदान गर्दै राउतको व्यावसायिक दक्षता, नेतृत्व क्षमता र सेवाप्रतिको समर्पणको प्रशंसा गरेका छन्।
कार्यालयका अनुसार इन्स्पेक्टर राउतले ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी, सेवामुखी तथा प्रविधिमैत्री बनाउन उल्लेखनीय भूमिका निर्वाह गरेका छन्। उनी कन्टेन्ट क्रिएसन, सामाजिक सञ्जाल व्यवस्थापन (सोसल मिडिया ह्यान्डलिङ) तथा अपरेशनल व्यवस्थापनमा दक्ष अधिकृतका रूपमा परिचित छन्।
यस्तै, कार्ययोजना निर्माण तथा प्रभावकारी कार्यान्वयन, नागरिकका गुनासोको शीघ्र सम्बोधन, ट्राफिक सचेतना अभिवृद्धि र सेवाग्राहीप्रति सरल, सभ्य, शिष्ट तथा उत्तरदायी व्यवहार प्रदर्शनमा उनले उत्कृष्ट कार्यसम्पादन गरेको कार्यालयले जनाएको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई प्रत्येक महिना सम्मान गर्दै सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उद्देश्यका साथ यस्तो मूल्यांकन गर्दै आएको छ।
