काठमाडौं । ‘जान्नेलाई छान्ने’ भन्ने नारासहित राजनीतिमा आएका रास्वपाका प्रतिनिधिसभा सदस्य बब्लु गुप्ताले ट्राफिक नियम उल्लंघन गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि कारबाहीको विषयले नयाँ बहस सिर्जना गरेको छ।
भाइरल भिडियोमा गुडिरहेको मोटरसाइकलको पछाडि उभिएर भिडियो बनाएको देखिएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय, सिरहाले कारबाही प्रक्रिया अघि बढायो। तर, कारबाही भने भिडियो बनाउने सांसद गुप्तामाथि होइन, मोटरसाइकल चालक पिताम्बर चौधरीमाथि गरियो।
जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डीएसपी) रमेशबहादुर पालले जारी गरेको विज्ञप्तिअनुसार चालक चौधरीलाई यातायात व्यवस्था ऐन, २०४९ बमोजिम ५ सय रुपैयाँ जरिवाना गरिएको छ।
घटनाबारे डीएसपी पालले यात्रुलाई ट्राफिक नियम उल्लंघनको आधारमा जरिवाना गर्ने कानुनी व्यवस्था नभएको बताए। उनका अनुसार, ट्राफिक नियम उल्लंघनसम्बन्धी कारबाही चालकलाई नै हुने भएकाले सोही व्यवस्था अनुसार जरिवाना गरिएको हो।
यता सांसद गुप्ताले भने आफूबाट ट्राफिक नियम उल्लंघन भएको स्वीकार गरेका छन्। तर, उनीमाथि कुनै जरिवाना वा अन्य कानुनी कारबाही भएन। यसले सामाजिक सञ्जालमा ‘चालकलाई सजाय, सांसदलाई उन्मुक्ति?’ भन्ने प्रश्न उठ्न थालेको छ।
पूर्वमन्त्रीसमेत रहेका गुप्ता सिरहा–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन्।
