रौतहट । नेपाल–भारत सीमामा तस्करी नियन्त्रणको जिम्मेवारीमा रहेका सुरक्षाकर्मीमाथि तस्करसँग कथित मिलेमतोको आरोप लागेपछि रौतहटको सीमा सुरक्षा फेरि विवादमा परेको छ।
बीओपी सरमुजवामा कार्यरत सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) गणेश बोहरा र एक व्यक्तिबीच भएको भनिएको संवादको अडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएपछि सीमा सुरक्षाको प्रभावकारितामाथि प्रश्न उठेको हो।
अडिओ सार्वजनिक भएपछि स्थानीय व्यापारी तथा सर्वसाधारणले घटनाको निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न र दोषी प्रमाणित भए कानुनी कारबाही गर्न माग गरेका छन्।
सुरक्षा स्रोतका अनुसार घटनापछि इन्स्पेक्टर बोहरालाई छिन्नमस्ता बाहिनीमा तानेर अनुसन्धान सुरु गरिएको छ। यद्यपि सार्वजनिक भएको अडिओको आधिकारिक पुष्टि भने सम्बन्धित निकायले गरेको छैन।
छिन्नमस्ता बाहिनीका प्रमुख डीआईजी विष्णुप्रसाद भट्टले पछिल्लो समय तस्करी नियन्त्रणमा कडाइ गर्दै शंकास्पद गतिविधिमा संलग्न कर्मचारीमाथि आवश्यक कारबाही गर्ने नीति लिएको सुरक्षा स्रोतको दाबी छ। सोहीअनुसार घटनाबारे अनुसन्धान अघि बढाइएको बताइएको छ।
स्थानीयका अनुसार व्यक्तिगत प्रयोजनका लागि ल्याइने सामानमा कडाइ गरिए पनि संगठित तस्करी भने रोकिएको छैन। बङ्कुल, रामपुरखाप, सरमुजवा लगायत सीमावर्ती नाकाबाट रातिको समयमा कपडा, किराना, मदिरा, कस्मेटिक तथा हार्डवेयर सामग्री अवैध रूपमा नेपाल भित्रिने क्रम जारी रहेको उनीहरूको दाबी छ।
स्थानीय व्यवसायीहरूले सुरक्षा निकायभित्रको कथित मिलेमतोका कारण राज्यले ठूलो परिमाणमा राजस्व गुमाइरहेको आरोप लगाएका छन्। उनीहरूका अनुसार सीमामा प्रभावकारी निगरानी र जवाफदेहिता अभावका कारण तस्करी नियन्त्रणसम्बन्धी सरकारी दाबी व्यवहारमा प्रभावकारी देखिएको छैन।
जिल्ला भन्सार कार्यालय गौरका अनुसार आर्थिक वर्ष २०८२/८३ मा सशस्त्र प्रहरी बल नम्बर–११ गण रौतहटले ४ करोड ५ लाख १९ हजार रुपैयाँ बराबरका अवैध सामान बरामद गरी भन्सार कार्यालयमा बुझाएको छ।
सोही अवधिमा नेपाल प्रहरीले ५ करोड ५५ लाख १८ हजार रुपैयाँभन्दा बढी मूल्यका अवैध सामान नियन्त्रणमा लिएर भन्सार बुझाएको तथ्यांक छ। यही तथ्यांकलाई आधार बनाउँदै केही स्थानीयले सशस्त्र प्रहरीको कार्यसम्पादनमाथि प्रश्न उठाएका छन्।
रौतहटमा तस्करी नियन्त्रणका लागि सशस्त्र प्रहरीको नम्बर–११ गण मुख्यालय, प्रस्तावित भन्सार गुल्म गौर, चार वटा बोर्डर आउट पोस्ट (बीओपी) र आठ वटा सीमा सुरक्षा पोस्ट सञ्चालनमा छन्।
यति ठूलो सुरक्षा संरचना हुँदाहुँदै पनि सीमापार तस्करी तथा राजस्व चुहावट प्रभावकारी रूपमा नियन्त्रण हुन नसकेको भन्दै स्थानीयले स्वतन्त्र छानबिनको माग गरेका छन्।
यसैबीच, अडिओ सार्वजनिक भएपछि शुक्रबार बिहान प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसाल, सशस्त्र प्रहरीका एसपी रामहरी अधिकारीसहितको टोली बङ्कुल बजार पुगेर स्थानीय व्यापारी तथा सर्वसाधारणसँग छलफल गरेको थियो।
छलफलका क्रममा स्थानीयले इन्स्पेक्टर बोहराको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै ‘सरुवा मात्र होइन, दोषी प्रमाणित भए कानुनी कारबाही हुनुपर्छ’ भन्ने माग राखेका थिए।
यता प्रहरी प्रधान कार्यालयले पनि सीमामा बढ्दो गुनासा तथा आचरणविपरीतका गतिविधिबारे प्रश्न उठेपछि असारको अन्तिम साता रौतहटका विभिन्न युनिटका इन्चार्जसहित ४८ जना प्रहरी कर्मचारीको सरुवा गरेको थियो।
सीमामा दोहोरिँदै विवाद
रौतहट–भारत सीमा लामो समयदेखि तस्करीका हिसाबले संवेदनशील क्षेत्र मानिन्छ। समय–समयमा ठूलो परिमाणमा अवैध सामान बरामद हुने तथ्यांक सार्वजनिक भए पनि तस्करी पूर्ण रूपमा नियन्त्रण हुन नसक्नु र बेला–बेलामा सुरक्षाकर्मीमाथि नै मिलेमतोको आरोप लाग्नुले सीमा सुरक्षाको प्रभावकारिता र सुशासनमाथि प्रश्न उठ्दै आएको छ।
यद्यपि सार्वजनिक भएको अडिओको सत्यता सम्बन्धित निकायबाट आधिकारिक रूपमा पुष्टि भइसकेको छैन। त्यसैले घटनाको निष्पक्ष अनुसन्धान, अडियोको वैज्ञानिक परीक्षण तथा तथ्य सार्वजनिक भएपछि मात्रै आरोपबारे अन्तिम निष्कर्षमा पुग्न सकिने देखिन्छ।
