काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभागअन्तर्गतको वृत्ति विकास महाशाखा, भर्ना छनोट शाखाले जनपद प्रहरी समूहतर्फ प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदको खुला प्रतियोगितात्मक भर्नामा माग पद संख्या थप गरिएको सम्बन्धी सूचना सार्वजनिक गरेको छ।
२०८३ साउन ८ गते प्रकाशित सूचनाअनुसार यसअघि २०८२ मंसिर २६ गते प्रकाशित विज्ञापनमा थप पद समावेश गरिएको हो।
नेपाल प्रहरीका अनुसार सुरुमा प्रहरी निरीक्षक पदका लागि कुल २१ पद माग गरिएको थियो। नयाँ निर्णयअनुसार ८ पद थप गरिएपछि अब उक्त पदमा कुल २९ जनाको पदपूर्ति गरिने भएको छ।
यसअघि प्रकाशित विज्ञापनमा खुलातर्फ १२, महिलातर्फ २, आदिवासी/जनजातितर्फ ३, मधेसीतर्फ ३ र दलिततर्फ १ पद कायम गरिएको थियो।
नयाँ सूचनाअनुसार थपिएको ८ पदमध्ये खुलातर्फ ४, आदिवासी/जनजातितर्फ २, मधेसीतर्फ १ र दलिततर्फ १ पद थप गरिएको छ। महिला, अमर/अशक्त प्रहरी परिवार तथा पिछडिएको क्षेत्रतर्फ भने थप पद राखिएको छैन।
यससँगै अब अन्तिम पद विभाजनअनुसार खुलातर्फ १६, महिलातर्फ २, आदिवासी/जनजातितर्फ ५, मधेसीतर्फ ४ र दलिततर्फ २ गरी कुल २९ पद मा भर्ना प्रक्रिया अघि बढ्नेछ।
नेपाल प्रहरीले जारी गरेको सूचनामा सर्वोच्च अदालतबाट जारी परमादेश तथा समावेशी व्यवस्थासम्बन्धी कानुनी प्रावधानअनुसार पद संख्या समायोजन गरिएको उल्लेख गरिएको छ।
सूचनाअनुसार समावेशी समूहको अनुपात मिलाउने क्रममा आर्थिक वर्ष २०७९/८० मा समावेश गर्न नसकिएका पदसमेत समेटेर हाल प्रचलित कानुनबमोजिम पदपूर्ति प्रक्रिया अगाडि बढाइएको हो।
यसअघि प्रकाशित विज्ञापनअनुसार आवेदन दिएका उम्मेदवारहरूको आवेदन यथावत् रहनेछ भने थप गरिएको पदसंख्याका आधारमा आगामी छनोट प्रक्रिया सञ्चालन गरिने नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ।
यस सूचनासँगै प्रहरी निरीक्षक पदका आकांक्षी उम्मेदवारका लागि प्रतिस्पर्धाको दायरा फराकिलो बनेको छ भने खुला तथा समावेशी दुवै समूहमा अवसरसमेत वृद्धि भएको छ।

