महोत्तरी । महोत्तरीमा ३ वर्षीय बालकको हत्या गरेको आरोपमा १५ वर्षीया एक किशोरी पक्राउ परेकी छन्। सम्सी गाउँपालिका–५ पोखरभिन्डा निवासी मनिकेश कुमार यादवको हत्या गरेको आरोपमा सोही गाउँकी किशोरीलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) पञ्चलाल गोलेका अनुसार गत जेठ २२ गते साँझ बालकको शव बोरामा हालेर स्थानीय पोखरीमा फालिएको अवस्थामा फेला परेको थियो।
प्रहरी अनुसन्धानका अनुसार घटना भएको दिन किशोरी ३० किलो रासायनिक मल साइकलमा राखेर खेततर्फ जाँदै थिइन्। मुख्य सडकबाट भोला बाबा मन्दिरतर्फ जाने क्रममा सडकमा हिँडिरहेका बालक साइकलमा ठोक्किँदा दुवै जना लडेका थिए।
त्यसपछि बालक अचेत भएपछि उनको मृत्यु भएको ठानेर घटना लुकाउने उद्देश्यले किशोरीले बालकलाई बोरामा हालेर करिब ३०० मिटर टाढाको पोखरीमा लगेर फालेकी थिइन्।
अनुसन्धानका क्रममा पोखरीमा शव फाल्नुअघि बालकले लगाएको चाँदीको बाला समेत निकालिएको खुलेको प्रहरीले जनाएको छ। उक्त बाला किशोरीको साथबाट बरामद गरिएको छ।
प्रहरीले शंकाका आधारमा किशोरीलाई असार ५ गते घरबाट नियन्त्रणमा लिएर अनुसन्धान थालेपछि घटनाको वास्तविकता खुलेको डीएसपी गोलेले बताए।
हाल किशोरीविरुद्ध महोत्तरी जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
