कञ्चनपुर । श्रीमानसँगको विवादपछि महाकाली नदीमा हाम फालेकी एक महिलाको आफ्नै ज्यान जोखिममा राखेर सकुशल उद्धार गर्ने प्रहरी कर्मचारी प्रकाश सिंह महरा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट असार महिनाको ‘पुलिस अफ द मन्थ’ घोषित भएका छन्।
प्रदेश प्रहरी कार्यालयले कार्यालय सहयोगी महरालाई साहस, कर्तव्यनिष्ठा र मानवीय सेवाको उच्च मूल्याङ्कन गर्दै उक्त सम्मान प्रदान गरेको हो।
गत असार २१ गते दार्चुलाको मालिकार्जुन गाउँपालिका–८ निवासी २६ वर्षीया बिमला कोलीले श्रीमान करण कोलीसँगको विवादपछि जौलजीवीस्थित महाकाली नदीमा हाम फालेकी थिइन्।
घटनाको सूचना प्राप्त हुनासाथ घटनास्थल पुगेका महराले नदीको तीव्र बहावको कुनै पर्वाह नगरी आफ्नै ज्यान जोखिममा राख्दै नदीमा हाम फालेका थिए। उनको साहसिक प्रयासबाट महिलाको सकुशल उद्धार गरिएको थियो।
प्रदेश प्रहरीका अनुसार महराको अदम्य साहस, कर्तव्यप्रतिको समर्पण र मानव जीवनप्रतिको जिम्मेवारीको कदरस्वरूप उनलाई असार महिनाको ‘पुलिस अफ द मन्थ’ घोषणा गरिएको हो।
प्रहरी संगठनले यस्तो सम्मानले जोखिम मोलेर नागरिकको जीवन रक्षा गर्ने प्रहरी कर्मचारीको मनोबल उच्च बनाउने र मानवतामूलक सेवाप्रतिको प्रतिबद्धतालाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरेको छ।
