काठमाडौं । भारतको उत्तर प्रदेशस्थित मेरठमा एक महिलाले आफ्नै पतिको हत्या गर्न एक वर्षसम्म ‘परफेक्ट मर्डर’ सम्बन्धी अनुसन्धान गरेको आरोप सार्वजनिक भएको छ।
प्रहरीले दिएको जानकारीअनुसार उनले ड्राइभरसँगको प्रेम सम्बन्धका कारण पतिलाई हटाउने योजना बनाउँदै इन्टरनेटमार्फत चर्चित हत्या घटनाहरू अध्ययन गरेकी थिइन्।
आरोपित दामिनीले सन् २०१९ मा अतुलसँग प्रेम विवाह गरेकी थिइन्। सुरुका केही वर्ष सम्बन्ध सामान्य रहे पनि पछि श्रीमान्बाट कुटपिट र मानसिक तथा शारीरिक यातना भोग्नुपरेको उनले प्रहरीसमक्ष बयान दिएको बताइएको छ।
प्रहरीका अनुसार करिब एक वर्षअघि दामिनीको तुषार नामका एक व्यक्तिसँग प्रेम सम्बन्ध सुरु भएको थियो। त्यसपछि दुवैले अतुलको हत्या गर्ने योजना बनाएका थिए। योजनाअनुसार दामिनीले पतिलाई दूधमा निद्राको औषधि मिसाएर खुवाइन् र त्यसपछि विषालु सर्पले डसाएर हत्या गरिएको आरोप छ।
अनुसन्धानका क्रममा दामिनीले एक वर्षदेखि इन्टरनेटमा ‘परफेक्ट क्राइम’ अर्थात् कुनै प्रमाण नछोडी अपराध गर्ने उपायहरू खोज्दै आएको खुलेको प्रहरीले जनाएको छ। उनले विगतमा भएका चर्चित पति हत्या घटनाहरू, प्रहरी अनुसन्धानको शैली तथा अपराधीहरू कसरी पक्राउ परे भन्ने विषयसमेत अध्ययन गरेकी थिइन्।
प्रहरीका अनुसार उनले मेरठको चर्चित ‘नीला ड्रम’ हत्याकाण्ड, बहसु क्षेत्रको सर्प प्रयोग गरेर गरिएको हत्या, इन्दौरका राजा रघुवंशी हत्या प्रकरण, तथा पुणेको केतन हत्या प्रकरण लगायतका घटनाको विस्तृत अध्ययन गरेकी थिइन्। पुराना घटनाबाट सिकेर यसपटक कुनै गल्ती नगर्ने प्रयास गरेको आरोप पनि प्रहरीको छ।
यद्यपि प्रहरीले डिजिटल प्रमाण, मोबाइल रेकर्ड तथा अन्य अनुसन्धानका आधारमा घटनाको रहस्य उजागर गरेको जनाएको छ। घटनामा संलग्न दामिनी र उनका प्रेमी तुषारलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
