लमजुङ । घाँटीमा लगाएको सुनको सिक्री र हातको औँठी लुट्ने लोभले एक युवकलाई आफ्नै साथीको ज्यान लिनेसम्मको अपराध गर्न बाध्य बनाएको छ।
लमजुङको बेसीशहरमा ५७ वर्षीय बुद्धि बहादुर बोहराको हत्या गरी सुनका गहना लुटेको आरोपमा उनका साथी ३० वर्षीय विजय लामिछाने पक्राउ परेका छन्। लुटिएको सुन खरिद गर्ने चितवनका एक सुन व्यवसायी पनि प्रहरीको फन्दामा परेका छन्।
जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार बेसीशहर नगरपालिका–८ तामाडोटोल शेराका बुद्धि बहादुर बोहरा असार २१ गते बिहान घरबाट निस्किएपछि सम्पर्कविहीन भएका थिए। दुई दिनसम्म पनि घर नफर्किएपछि उनकी श्रीमती बालकुमारी बोहराले असार २३ गते प्रहरीमा खोजीका लागि निवेदन दिएकी थिइन्।
प्रहरीले खोजी तीव्र बनाएपछि असार २५ गते बिहान बेसीशहर–१ स्थित आकासेडाँडामाथिको भिरपानी सामुदायिक वनमा बोहराको शव सडिगलेको अवस्थामा फेला परेको थियो। घटनास्थलमा मृतकले लगाउने सुनको सिक्री र औँठी गायब देखिएपछि प्रहरीले हत्या लुटपाटका लागि गरिएको हुन सक्ने आशंकामा अनुसन्धान केन्द्रित गरेको थियो।
गण्डकी प्रदेश प्रहरी कार्यालयको प्राविधिक टोलीको सहयोगमा सिसिटिभी फुटेज, मोबाइल लोकेसन र अन्य प्राविधिक विश्लेषण गर्दा घटना भएको दिन मृतकसँग विजय लामिछाने सँगै हिँडिरहेको पुष्टि भयो। त्यसपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर कडाइका साथ सोधपुछ गर्दा अपराधको रहस्य खुलेको हो।
प्रहरी अनुसन्धानअनुसार लामिछानेले सुनका गहना लुट्ने उद्देश्यले बोहरालाई भिरपानी सामुदायिक वनतर्फ लगेका थिए। त्यहाँ पुगेपछि उनले काठको दाउराले टाउको तथा शरीरमा पटक–पटक प्रहार गरी हत्या गरेका थिए। त्यसपछि मृतकको घाँटीबाट सुनको सिक्री र हातबाट औँठी निकालेर सोही राति चितवन फरार भएको खुलेको छ।
हत्यापछि उनी असार २२ गते भरतपुर महानगरपालिका–२१ पार्वतीपुरस्थित मौलाकालिका सुनचाँदी पसल पुगेका थिए। प्रहरीले जनाएको अनुसार पसल सञ्चालक ४३ वर्षीय दीपक विश्वकर्मालाई उनले लुटिएको सुन बिक्री गरेका थिए। तत्काल ४४ हजार रुपैयाँ नगद लिएका लामिछानेले बाँकी करिब ६ लाख रुपैयाँ पछि लिने सहमति गरेका थिए।
लामिछानेको बयानका आधारमा लमजुङ प्रहरी र चितवन प्रहरीको संयुक्त टोलीले उक्त पसलमा छापा मारेर चोरी भएको सुनको सिक्री र औँठी बरामद गरेको छ। सुन खरिद गर्ने व्यवसायी दीपक विश्वकर्मालाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ।
घटनास्थलबाट हत्या गर्न प्रयोग गरिएको काठको दाउरा समेत बरामद गरिएको छ।
प्रहरीले मुख्य अभियुक्त विजय लामिछाने र सुन व्यवसायी दीपक विश्वकर्माविरुद्ध कर्तव्य ज्यान तथा डाँका चोरी सम्बन्धी कसुरमा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान अघि बढाएको जनाएको छ।
सामान्य देखिएको एक व्यक्तिको हराइको घटनाबाट सुरु भएको अनुसन्धान अन्ततः योजनाबद्ध हत्या, लुटपाट र चोरीको सुन कारोबारसम्म पुगेको प्रहरीको भनाइ छ।
