काठमाडौं । २०८३ जेठ २२ गते जिल्ला प्रहरी परिसर काठमाडौंको नेतृत्व सम्हालेको ४० दिन नपुग्दै एसएसपी दिलिप घिमिरे विभिन्न विवादका कारण आलोचनाको केन्द्रमा परेका छन्। राजधानीको सुरक्षा, कानुन कार्यान्वयन र प्रहरीको निष्पक्ष भूमिकामाथि प्रश्न उठ्ने गरी पछिल्ला केही घटनाक्रम सार्वजनिक भएपछि काठमाडौं प्रहरीको नेतृत्व शैलीमाथि प्रश्नचिन्ह खडा भएको छ।
सबैभन्दा बढी चर्चा किर्तिपुरस्थित होल्डिङ सेन्टरमा आएको डुबानपछि भएको घटनाले पायो। डुबानमा परेका व्यक्तिहरूको उद्धारका लागि प्रहरी टोली घटनास्थल पुगेको थियो। त्यही समयमा विभिन्न सञ्चारमाध्यमका प्रतिनिधि तथा नागरिक अभियन्ताहरू पनि त्यहाँ पुगेका थिए।
त्यसक्रममा प्रहरी र नागरिक अभियन्ताबीच तनाव सिर्जना भएको देखियो। सामाजिक सञ्जालमा सार्वजनिक भएको एउटा भिडियोमा प्रहरीबाट जेनजी अभियन्ता मस्जिद अन्सारीमाथि बल प्रयोग गरिएको दृश्य भाइरल भएपछि प्रहरीको व्यवहारप्रति व्यापक आलोचना भयो। प्रहरीको भूमिकामाथि सामाजिक सञ्जालदेखि सार्वजनिक बहससम्म प्रश्न उठाइयो।
यस घटनाको आलोचना मत्थर नहुँदै अर्को विवादले काठमाडौं प्रहरीलाई फेरि घेर्यो। राजधानीका केही सञ्चारगृह तथा राजनीतिक नेताहरूको घरअगाडि बेवारिसे शैलीमा सवारीसाधन पार्किङ गरिएका घटनाले राज्य संयन्त्रको दुरुपयोग भएको आशंका जन्मायो। उक्त घटनालाई गणेश नेपालीको आत्मदाह प्रकरणबाट जनध्यान मोड्ने प्रयासका रूपमा समेत कतिपयले व्याख्या गरेका छन्।
यसै सन्दर्भमा नेपाली कांग्रेसका सभापति गगन थापाले सार्वजनिक रूपमा आफ्नो घरअगाडि गाडी राखिएको र ती व्यक्ति प्रहरीको गाडी चढेर त्यहाँबाट बाहिरिएको कुरा स्थानीय प्रत्यक्षदर्शीले जानकारी दिएको बताएका छन्। यस घटनामा काठमाडौं प्रहरीको भूमिका रहेको आरोप विभिन्न तहबाट उठाइएको छ।
यी दुई घटनाले प्रहरी संगठनको निष्पक्षता र व्यावसायिकतामाथि प्रश्न उठाएको टिप्पणी हुन थालेको छ। देश र जनताको सुरक्षा गर्ने जिम्मेवारी बोकेको प्रहरी राजनीतिक दबाब वा सत्ता केन्द्रको इच्छाअनुसार परिचालित भएको हो कि भन्ने आशंका बढ्दै गएको छ। प्रहरीको प्राथमिक जिम्मेवारी कानुनको निष्पक्ष कार्यान्वयन भए पनि पछिल्ला घटनाले त्यसप्रति नागरिकको विश्वास कमजोर बनाएको टिप्पणी भइरहेको छ।
एसएसपी घिमिरेको नेतृत्वलाई लिएर प्रहरी वृत्तभित्र समेत मिश्रित प्रतिक्रिया रहेको बताइन्छ। केही सुरक्षा विश्लेषकहरूले छोटो समयमै लगातार विवाद उत्पन्न हुनु नेतृत्व क्षमताको कमजोरीको संकेत हुन सक्ने टिप्पणी गरेका छन्। उनीहरूका अनुसार राजधानीजस्तो संवेदनशील जिल्लामा कमाण्ड सम्हाल्ने अधिकारीसँग दृढ निर्णय क्षमता, राजनीतिक दबाब सामना गर्ने साहस र कानुनअनुसार काम गर्ने स्पष्ट अडान आवश्यक हुन्छ।
यसबीच एसएसपी घिमिरे काठमाडौं आउनुमा राजनीतिक पहुँचको भूमिका रहेको थियो। उनी तथा उनकी पत्नी बसुन्धरा खड्काले सत्ता निकट राजनीतिक नेतृत्वसँग राम्रो सम्बन्धका आधारमा काठमाडौं सरुवा गराएको आरोप सार्वजनिक रूपमा लाग्ने गरेको छ।
राजधानीको सुरक्षा व्यवस्था केवल प्रहरीको विषय मात्र होइन, राज्यप्रतिको नागरिक विश्वाससँग पनि जोडिएको विषय हो। त्यसैले पछिल्ला विवादबारे निष्पक्ष छानबिन, तथ्यमा आधारित जवाफदेहिता र प्रहरी संगठनको व्यावसायिक छवि कायम राख्ने प्रयास आवश्यक देखिन्छ।
अन्यथा, काठमाडौं प्रहरीमाथिको जनविश्वास थप कमजोर हुने र कानुनी शासनप्रति नागरिकको भरोसा घट्ने जोखिम बढ्न सक्छ।
