रौतहट । काठमाडौंमा एक महिलामाथि जबर्जस्ती करणी गरेको आरोपमा एक वर्षभन्दा बढी समयदेखि फरार रहेका एक अभियुक्तलाई रौतहट प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा रौतहटको राजपुर नगरपालिका–८ अकोलवा निवासी २२ वर्षीय आफान आलम रहेका छन्। उनी काठमाडौं महानगरपालिका–१३ टंकेश्वर क्षेत्रमा भएको जबर्जस्ती करणी घटनापछि फरार हुँदै विभिन्न स्थानमा लुकिछिपी बस्दै आएका थिए।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी बसन्त गौतमका अनुसार परिवर्तित नाम ०८२/०८३ (३४) (क) को जाहेरीका आधारमा दर्ता भएको जबर्जस्ती करणी मुद्दामा फरार रहेका आलमको खोजी तीव्र पारिएको थियो।
गोप्य सूचनाका आधारमा काठमाडौं प्रहरी वृत्त कालिमाटीसँग समन्वय गरी रौतहट प्रहरीले विशेष खोजतलास अभियान सञ्चालन गरेको थियो। सोही क्रममा सोमबार दिउँसो करिब १२ बजे राजपुर नगरपालिका–४ मा लुकिछिपी बसेको अवस्थामा उनलाई पक्राउ गरिएको हो।
प्रहरीका अनुसार पक्राउ परेका आलमलाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि प्रहरी वृत्त कालिमाटी, काठमाडौं पठाइएको छ।
