काठमाडौं । सिद्धार्थ बैंकका सञ्चालक तथा चार्टर्ड एकाउन्टेन्ट (एफसीए) भोजन अर्याल अर्थमन्त्री डा. स्वर्णिम वाग्लेका राजस्व सल्लाहकार नियुक्त भएका छन्। अर्थमन्त्री वाग्लेले मन्त्रीस्तरीय निर्णय गर्दै अर्याललाई राजस्व क्षेत्र हेर्ने अवैतनिक सल्लाहकारका रूपमा नियुक्त गरेका हुन्।
अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री वाग्लेले अर्याललाई नियुक्तिपत्र हस्तान्तरण गर्दै सरकारको १६ खर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य पूरा गर्न उनको विज्ञता, अनुभव र इमानदार सल्लाहको अपेक्षा रहेको बताए।
नवनियुक्त सल्लाहकार अर्यालले सरकार र अर्थमन्त्रीले गरेको विश्वासलाई आफ्नो दक्षता र अनुभवमार्फत नतिजामा रूपान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरे। स्याङ्जा स्थायी घर भएका अर्याल विगत १५ वर्षदेखि लेखापरीक्षण तथा वित्तीय परामर्श क्षेत्रमा सक्रिय छन्।
यद्यपि, सिद्धार्थ बैंकको मनिग्राम (रुपन्देही) शाखासँग सम्बन्धित कथित कीर्ते ऋण प्रकरण सार्वजनिक भएको एक साता पनि नबित्दै बैंकका सञ्चालक अर्याल अर्थमन्त्रीको सल्लाहकार नियुक्त भएपछि यसले विभिन्न प्रश्नहरू उठाएको छ।
उक्त प्रकरणमा पीडितमध्येका एक दिलीप ओलीले बैंकले आफूले माग नै नगरेको कर्जा स्वीकृत गरेको, कीर्ते कागजात तयार गरी कालोसूचीमा रहेको कम्पनीका नाममा करोडौं रुपैयाँ कर्जा प्रवाह गरेको तथा त्यसलाई ढाकछोप गर्न आफूलाई प्रयोग गरिएको आरोप लगाउँदै निष्पक्ष छानबिनको माग गरेका छन्।
यद्यपि, उक्त आरोपबारे सिद्धार्थ बैंक वा नवनियुक्त राजस्व सल्लाहकार भोजन अर्यालले सार्वजनिक रूपमा कुनै प्रतिक्रिया दिएका छैनन्। छानबिनको माग भइरहेका बेला भएको यो नियुक्तिलाई लिएर विभिन्न कोणबाट चासो व्यक्त हुन थालेको छ।
