काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आफ्नो घरअगाडि शंकास्पद रूपमा गाडी राखिएको घटनालाई लिएर सरकारमाथि गम्भीर आरोप लगाएका छन् ।
सोमबार पार्टीको एक कार्यक्रममा बोल्दै थापाले आफू पहिले बस्ने घर रहेको स्थानको मुखमा बिहान करिब ७ बजे दुई जना व्यक्तिले गाडी राखेर हिँडेको जानकारी स्थानीयबाट प्राप्त भएको बताए।
उनका अनुसार स्थानीयले ती व्यक्तिहरू गाडी राखेपछि प्रशासनकै गाडी चढेर गएको जानकारी दिएका छन्।
‘त्यहाँ मेरो घर पहिले थियो, अहिले छैन। त्यसको मुखमा एउटा गाडी राखिएको रहेछ। स्थानीय साथीहरूले भनेअनुसार गाडी राख्ने मान्छे प्रशासनको गाडी चढेर गएको छ। यो अत्यन्त अचम्मको विषय हो। यस्तो कसले गर्यो भन्ने प्रश्न उठ्छ, तर सरकार आफैँले गरेको जस्तो देखिन्छ,’ थापाले भने।
उनले सरकार प्रश्न गर्नेहरूको आवाज दबाउन र आलोचनालाई नियन्त्रण गर्न उद्यत रहेको आरोपसमेत लगाए। ‘आज मेरो घरअगाडि गाडी राखिएको होइन, मेरो मुख थुन्न खोजिएको हो। यो तर्साहटको राजनीति हो। प्रश्न गरिस् भने खबरदार भन्ने सन्देश दिन खोजिएको हो,’ उनले टिप्पणी गरे।
थापाले घटनाले आफूलाई विचलित बनाउन नसक्ने स्पष्ट पार्दै कांग्रेस लोकतान्त्रिक अधिकारको पक्षमा दृढतापूर्वक उभिने बताए।’यी सबै कुरा खेदजनक छन्। तर यसले हाम्रो हक खोस्न सक्दैन, हाम्रो हिम्मत पनि कसैले खोस्न सक्दैन। सरकारको आलोचना गर्नुपर्ने ठाउँमा नेपाली कांग्रेस खुलेर बोलिरहन्छ,’ उनले भने।
