काठमाडौं । अगुवा जेनजी अभियान्ता रक्षा बमले सरकारले काठमाडौंमा गरेको पार्किङ व्यवस्थापनको शैली र प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनको भूमिकाप्रति तीव्र असन्तुष्टि जनाएकी छन्।
सामाजिक सञ्जालमार्फत उनले मिडिया हाउसअगाडि गाडी पार्क गरेर ‘जथाभावी पार्किङले कस्तो समस्या निम्त्याउँछ’ भन्ने देखाउने तर्कलाई ‘स्टन्ट’को संज्ञा दिइन्। उनले पार्किङ समस्या समाधान गर्नु सरकारको दायित्व भए पनि शक्ति प्रदर्शन गरेर नागरिकलाई सास्ती दिने काम स्वीकार्य नहुने बताएकी छन्।
उनले राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक सूचीको विवादका बेला कुमार बेनज्यूले आलोचकलाई बागमतीमा चोबाल्ने र सामाजिक सञ्जालमा समर्थन गर्नेहरूलाई समेत थुन्ने अभिव्यक्ति दिएको दाबी गर्दै त्यसले तानाशाही मानसिकताको संकेत गरेको उल्लेख समेत गरेकी छिन्।
उनले प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको पदको गरिमा कायम राख्न आग्रह गर्दै नागरिकलाई धम्क्याउने वा सञ्चारमाध्यममाथि शक्ति प्रदर्शन गर्ने अधिकार कसैलाई नभएको बताइन्।
नगर प्रहरीले गणेश नेपालीमाथि गरेको व्यवहारप्रति पनि उनले आपत्ति जनाइन्। पार्किङ व्यवस्थापनको विरोध नभई नागरिकसँग गरिएको व्यवहार र शैलीको विरोध भइरहेको स्पष्ट पार्दै उनले प्रहरी जनताप्रति संवेदनशील हुनुपर्ने धारणा व्यक्त गरेकी छन्।
अन्त्यमा उनले ‘कुनै फिल्मको स्क्रिप्ट लेखेर फिल्म चलाउनु र राज्यसत्ता सञ्चालन गर्नु दुई फरक कुरा हुन्’ भन्दै सरकारलाई प्रचारमुखी गतिविधिभन्दा जिम्मेवार शासनमा केन्द्रित हुन आग्रह गरेकी छिन्।
