काठमाडौं । राजधानी काठमाडौंमा सोमबार बिहान विभिन्न सञ्चारगृह तथा राजनीतिक व्यक्तिहरूका निवास अगाडि सवारीसाधन अनाधिकृत रूपमा पार्किङ गरिएपछि सर्वसाधारणदेखि सम्बन्धित संस्थासम्मले घण्टौं सास्ती बेहोर्नुपर्यो।
घटनाले काठमाडौं प्रहरी र ट्राफिक प्रहरीको तत्काल प्रतिक्रिया तथा कमान्ड क्षमतामाथि गम्भीर प्रश्न उठाएको छ।
बिहानैदेखि कान्तिपुर पब्लिकेशन, अनलाइनखबर, हिमालय टेलिभिजनलगायतका कार्यालयको प्रवेशद्वारमै गाडी पार्किङ गरिँदा कर्मचारीका सवारीसाधन बाहिर निकाल्नसमेत समस्या भएको थियो। यस्तै नेपाली काङ्ग्रेसका सभापति गगन थापाको निवास अगाडि पनि यस्तै शैलीमा सवारीसाधन छाडियो।
घटनास्थलमा लामो समयसम्म प्रहरी वा ट्राफिक प्रहरीको प्रभावकारी हस्तक्षेप नदेखिएको भन्दै स्थानीय तथा सरोकारवालाले सुरक्षा संयन्त्रको सक्रियतामाथि प्रश्न उठाएका छन्। काठमाडौंका व्यस्त चोक–चोकमा नियमित रूपमा खटिने प्रहरी र ट्राफिक प्रहरीको नजरबाट यस्ता सवारीसाधन कसरी छुटे भन्ने प्रश्न पनि उठेको छ।
झन् सञ्चारमाध्यमहरूले घटनाबारे समाचार सार्वजनिक गरेपछि मात्रै ट्राफिक प्रहरीले क्रेन प्रयोग गरी ती सवारीसाधन हटाएको देखिएको छ। यसले सूचना पाएपछि प्रहरीको प्रतिक्रिया किन ढिलो भयो भन्ने विषयमा थप जिज्ञासा पैदा गरेको छ।
प्राप्त विवरणअनुसार, कान्तिपुर पब्लिकेशन अगाडि पार्किङ गरिएको बा. प्रदेश–०१–०३४ च ८४८० नम्बरको गाडी सानिमा बैंकको नाममा रहेको देखिएको छ।
अनलाइनखबर कार्यालय अगाडि रहेको बा.१२ च ८५४५ नम्बरको गाडी सुनिल पौडेलको नाममा तथा हिमालय टेलिभिजन अगाडि पार्किङ गरिएको बा.१२ च १२५५ नम्बरको गाडी सुवाष भण्डारीको नाममा दर्ता रहेको बताइएको छ।
घटनापछि काठमाडौं उपत्यका प्रहरी कार्यालयको नेतृत्व गरिरहेका दिलीप घिमिरेको कमान्ड क्षमतामाथि पनि प्रश्न उठ्न थालेको छ। राजधानीको संवेदनशील क्षेत्रमा यति लामो समयसम्म अनाधिकृत पार्किङ भइरहँदा प्रभावकारी निगरानी र तत्काल कारबाही किन हुन सकेन भन्ने विषयमा प्रहरी नेतृत्वले स्पष्ट जवाफ दिनुपर्ने माग उठिरहेको छ।
यस घटनाको उद्देश्य, योजनाकार र संलग्न व्यक्तिबारे प्रहरीले औपचारिक रूपमा अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक गर्नुपर्ने आवश्यकता देखिएको छ।
साथै, राजधानीको सुरक्षा व्यवस्थाप्रति जनविश्वास कायम राख्न प्रहरी नेतृत्वले घटनाको जिम्मेवारी लिँदै भविष्यमा यस्ता कमजोरी दोहोरिन नदिने गरी प्रभावकारी कदम चाल्नुपर्ने आवाज समेत उठ्न थालेको छ।
