काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालयले चोरी भएका सवारीसाधन खोजी अभियानलाई तीव्र बनाउँदै पछिल्लो एक महिनामा ५१ वटा चोरीका मोटरसाइकल फेला पारेर सम्बन्धित धनीलाई जिम्मा लगाएको छ। तीमध्ये राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको नाममा दर्ता रहेको मोटरसाइकलसमेत भेटिनु विशेष बनेको छ।
खोटाङको बाह्रपोखरी गाउँपालिका घर भई काठमाडौंको मुलपानी बस्दै आएका गणेश बुढाथोकीले प्रयोग गर्दै आएको बा २ प ३१२९ नम्बरको मोटरसाइकल २०७६ मंसिर ८ गते आफ्नै घरबाट राति करिब ९ बजेतिर चोरी भएको थियो। मोटरसाइकल हराएको थाहा पाउनेबित्तिकै उनले प्रहरीमा निवेदन दिएका थिए।
तर सात वर्षसम्म कुनै अत्तोपत्तो नलागेको उक्त मोटरसाइकल उपत्यका ट्राफिक प्रहरी कार्यालयको खोजतलास अभियानका क्रममा भक्तपुरको सिरुटार क्षेत्रमा बेवारिसे अवस्थामा फेला परेको कार्यालय प्रमुख एसएसपी सुरेश काफ्लेले जानकारी दिए।
मोटरसाइकल फेला परेको जानकारी आफूले करिब १५ दिनअघि पाएको बुढाथोकीले बताए। लामो समयपछि आफ्नै मोटरसाइकल फिर्ता पाउँदा उनी खुसी भएको बताए।
उपत्यका ट्राफिक प्रहरी कार्यालयले पछिल्लो समय चोरी भएका सवारीसाधन खोजी तथा नियन्त्रण अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गर्दै आएको छ। सोही अभियानअन्तर्गत एक महिनाको अवधिमा ५१ वटा चोरीका मोटरसाइकल फेला पारेर वास्तविक धनीलाई बुझाइएको कार्यालयले जनाएको छ।
ट्राफिक प्रहरीका अनुसार चोरी भएका सवारीसाधनको खोजीलाई अझ प्रभावकारी बनाउँदै आगामी दिनमा पनि यस्ता अभियानलाई निरन्तरता दिइनेछ।
