रौतहट । मधेश प्रदेश सशस्त्र प्रहरी बलका डीआईजी विष्णुप्रसाद भट्टले सडक दुर्घटनामा घाइते भएका यात्रुको तत्काल उद्धार गरी अस्पताल पुर्याएको घटनाले सामाजिक सञ्जालमा व्यापक चर्चा पाएको छ। घटनास्थलमै पुगेर उनले आफैं उद्धारमा सक्रिय भूमिका खेलेको भिडियो भाइरल बनेपछि उनको मानवीय कार्यको चौतर्फी प्रशंसा भइरहेको छ।
धनुषाको मटिहानी क्षेत्रबाट फर्किरहेका बेला विपरीत दिशाबाट आएको यात्रुवाहक टेम्पु दुर्घटनामा परेको देखेपछि डीआईजी भट्ट आफ्नो सुरक्षा टोलीसहित तत्काल घटनास्थलमा पुगेका थिए। उनले उद्धारको जिम्मेवारी मातहतका सुरक्षाकर्मीलाई मात्र नछोडी स्वयं टेम्पुभित्र रहेका घाइते यात्रुलाई बाहिर निकाल्न अग्रसर भएका थिए।
प्रत्यक्षदर्शीका अनुसार दुर्घटनामा घाइते भएकाहरूलाई डीआईजी भट्टले सशस्त्र प्रहरी बलको सरकारी सवारीमै राखेर तत्काल जनकपुरस्थित अस्पताल पुर्याएका थिए। दुर्घटनापछि केही मिनेटमै सुरक्षा टोली उद्धारमा सक्रिय भएकाले घाइतेहरूले समयमै उपचार पाउन सफल भएको स्थानीयवासीको भनाइ छ।
घटनाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि हजारौँ प्रयोगकर्ताले डीआईजी भट्टको प्रशंसा गरेका छन्। धेरैले ‘देश र जनताको सेवाका लागि खाएको कसम व्यवहारमै देखियो’ भन्दै प्रतिक्रिया जनाएका छन्। कतिपयले पद र जिम्मेवारीभन्दा माथि उठेर देखाएको मानवीय संवेदनशीलताको खुलेर सराहना गरेका छन्।
स्थानीयवासीहरूले पनि सुरक्षा निकायप्रति विश्वास बढाउने खालको काम भएको भन्दै डीआईजी भट्टप्रति धन्यवाद व्यक्त गरेका छन्। उनीहरूको भनाइमा, ‘पदमा बसेर निर्देशन दिने मात्र होइन, आवश्यक पर्दा आफैं अग्रपङ्क्तिमा उभिएर घाइतेको उद्धार गर्नु नै वास्तविक नेतृत्व हो।’
सुरक्षा निकायको भूमिका शान्ति-सुरक्षा कायम गर्ने वा अपराध नियन्त्रणमा मात्र सीमित हुँदैन। विपद्, दुर्घटना तथा मानवीय संकटका बेला तत्काल उद्धार र राहत उपलब्ध गराउनु पनि सुरक्षा संगठनको प्रमुख दायित्व हो। डीआईजी भट्टको यो कार्यले त्यही जिम्मेवारीलाई व्यवहारमा उतारेको धेरैको बुझाइ छ।
पछिल्लो समय सरकारी अधिकारीप्रति नागरिकको विश्वास घटिरहेको चर्चा भइरहेका बेला उच्च तहका सुरक्षा अधिकारी स्वयं उद्धारमा खटिएको दृश्यले सकारात्मक सन्देश दिएको टिप्पणी हुन थालेको छ। यसले नेतृत्व भनेको आदेश दिने मात्र नभई आवश्यक पर्दा अग्रपङ्क्तिमा उभिएर जिम्मेवारी निर्वाह गर्ने गुण पनि हो भन्ने सन्देश दिएको विश्लेषकहरूको भनाइ छ।
डीआईजी भट्ट यसअघि पनि मधेश प्रदेशका सीमावर्ती क्षेत्रमा पुगेर स्थानीयसँग प्रत्यक्ष संवाद गर्ने, सीमा नाकाबाट हुने चोरी–तस्करी, लागूऔषध ओसारपसार तथा अन्य आपराधिक गतिविधि नियन्त्रणका विषयमा सक्रिय रूपमा काम गर्दै आएका अधिकारीका रूपमा परिचित छन्। स्थानीयले उनको पछिल्लो मानवीय कार्यलाई पनि त्यही जनमुखी कार्यशैलीको निरन्तरताका रूपमा लिएका छन्।
सामाजिक सञ्जालमा भाइरल बनेको यो घटनाले सुरक्षा निकायप्रतिको सकारात्मक छवि निर्माण गर्न मात्र होइन, जनतामुखी नेतृत्व कस्तो हुनुपर्छ भन्ने उदाहरणसमेत प्रस्तुत गरेको भन्दै व्यापक चर्चा भइरहेको छ।
