रुपन्देही। रुपन्देहीको मायादेवी गाउँपालिका–५ स्थित गुवानिया चोक नजिक प्रहरीले ब्राउन सुगर, पेस्तोल र गोलीसहित एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश राज्यको अमेठी घर भएका अन्दाजी ५० वर्षीय एकवाल खान रहेका छन्।
उनीलाई नियन्त्रणमा लिने क्रममा खानले प्रहरीमाथि पेस्तोल ताकी कार्यसम्पादनमा अवरोध गरेपछि प्रहरीले आत्मरक्षाका लागि जवाफी फायरिङ गरेको थियो। फायरिङका क्रममा उनको देब्रे खुट्टाको पिँडौलामा गोली लागी उनी घाइते भएका थिए।
उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका खान हाल प्रहरी हिरासतमा रहेका छन्।
प्रहरीले उनको साथबाट लागुऔषध ब्राउन सुगर, एक थान पेस्तोल तथा दुई राउन्ड गोली बरामद गरेको जनाएको छ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
