लन्डन। बेलायतभर छरिएर रहेका नेपाली पण्डित तथा गुरुहरूलाई एउटै साझा मञ्चमा आबद्ध गर्दै धर्म, भाषा, संस्कार र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यका साथ पण्डित चिरञ्जीवी ढकालको अध्यक्षतामा नयाँ कार्यसमिति प्रस्ताव गरिएको छ।
केही वर्षअघि गुरुहरूलाई संस्थागत रूपमा संगठित गर्ने उद्देश्यले कम्पनी हाउसमा संस्था दर्ता गरिएको भए पनि विभिन्न प्राविधिक कारणले अपेक्षित रूपमा गतिविधि अघि बढ्न सकेको थिएन। त्यसपछि पुरानो संस्थालाई औपचारिक रूपमा बन्द गरी नयाँ ऊर्जा, नयाँ नेतृत्व र साझा प्रतिबद्धतासहित पुनः संगठित भएर अघि बढ्ने निर्णय गरिएको जनाइएको छ।
प्रवासमा रहेका नेपाली समुदायमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विषयसँग सम्बन्धित जिज्ञासा, चाडपर्व, तिथि–मिति र संस्कारसम्बन्धी विषयमा शास्त्रीय मार्गदर्शन प्रदान गर्नुका साथै नयाँ पुस्तामा सनातन धर्मका मूल्य–मान्यता हस्तान्तरण गर्ने लक्ष्यसहित यो पहल गरिएको बताइएको छ।
प्रस्तावित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा पण्डित निलहरी घिमिरे, उपाध्यक्षहरूमा पण्डित गोविन्द नेपाल र अर्जुन पाण्डे तथा महासचिवमा पण्डित शेखर शाण्डिल्य काफ्ले चयन भएका छन्।
यस्तै, कोषाध्यक्षमा पण्डित होमनाथ पौडेल, सह–कोषाध्यक्षमा पण्डित विनोद पन्थी, सचिवमा पण्डित डा. थानेश्वर पाण्डे र सह–सचिवमा पण्डित मधुसूदन सत्याल प्रस्तावित भएका छन्।
कार्यसमिति सदस्यहरूमा पण्डित बासुदेव सापकोटा, पण्डित आनन्द लोहनी, पण्डित विज्ञान पौडेल र पण्डित माधव रेग्मी रहेका छन्। वरिष्ठ पण्डित नारायण गाउलेलाई संस्थाको मुख्य सल्लाहकारको जिम्मेवारी दिइएको छ।
नवनिर्मित कार्यसमितिले बेलायतभर रहेका सम्पूर्ण गुरुहरूको सुझाव, मार्गदर्शन र सहभागितालाई आत्मसात् गर्दै धार्मिक तथा सांस्कृतिक पुनर्जागरणका कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता जनाएको छ।
