टोकियो। नेपाली जनसम्पर्क समिति जापानको सातौँ अधिवेशनबाट राजेन्द्र जमरकट्टेल सभापति र विराट खनाल महामन्त्रीमा निर्विरोध निर्वाचित भएका छन्।
जापानको टोकियोस्थित शिबुयामा सम्पन्न अधिवेशनले नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो। अधिवेशनको उद्घाटन नेपाली कांग्रेसका सभापति गगन थापाले भर्चुअल माध्यमबाट गरेका थिए।
उद्घाटनका क्रममा सभापति थापाले विदेशमा रहेका नेपाली कांग्रेससम्बद्ध कार्यकर्तालाई संगठनलाई थप सक्रिय, सुदृढ र एकताबद्ध बनाउन आग्रह गरेका थिए।
उनले नेपाली जनसम्पर्क समितिहरू प्रवासमा रहेका नेपालीको आवाजलाई संगठित गर्दै पार्टी र देशबीचको सम्बन्ध मजबुत बनाउने महत्वपूर्ण माध्यम भएकाले संगठनलाई अझ प्रभावकारी ढंगले अघि बढाउनुपर्नेमा जोड दिएका थिए।
अधिवेशनमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी विशिष्ट अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रममा जापानस्थित नेपाली समुदाय तथा नेपाली कांग्रेससँग आबद्ध कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको थियो।
नवनिर्वाचित कार्यसमितिले प्रवासमा रहेका नेपालीको हकहित, संगठनको सुदृढीकरण तथा नेपाली कांग्रेसको नीति र विचारलाई प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।
