रौतहट । रौतहटको कटहरिया नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ४८ करोड ७७ लाख ४७ हजार रुपैयाँको बजेट पारित गरेको छ।
सोमबार सम्पन्न १२औँ नगरसभा तथा १०औँ बजेट अधिवेशनमा चालुतर्फ ३३ करोड ८८ लाख ७२ हजार र पुँजीगततर्फ १४ करोड ८८ लाख ७५ हजार रुपैयाँ विनियोजन गरिएको हो।
तर बजेट वितरणमा विभेद भएको आरोप लगाउँदै वडा नं. १, २, ४, ६ र ९ का अध्यक्षहरूले नगरसभा बहिष्कार गरेका छन्। उनीहरूले पाँच वडाको विकास बजेट कटौती गरी पक्षपातपूर्ण रूपमा बजेट बाँडफाँट गरिएको आरोप लगाउँदै नगरपालिकाको मूल गेटमा प्रदर्शन गरेका थिए।
बहिष्कारमा सहभागी वडा अध्यक्षहरूले प्रमुख प्रशासकीय अधिकृतलाई नगरसभा बदर गर्न माग गर्दै ज्ञापनपत्रसमेत बुझाएका छन्। उनीहरूले नगरसभा नमान्ने र आवश्यक परे अदालत जाने चेतावनी दिएका छन्।
यता नगरपालिकाले भने कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार, खानेपानी, सरसफाइलगायत क्षेत्रलाई प्राथमिकतामा राखेर नीति, कार्यक्रम र बजेट पारित गरिएको जनाएको छ।
