काठमाडौं । नेपाल प्रहरीले जिल्ला तहको ट्राफिक व्यवस्थापनमा महत्त्वपूर्ण संरचनागत परिवर्तन गरेको छ। प्रहरी प्रधान कार्यालयले परिपत्र जारी गर्दै अबदेखि जिल्ला ट्राफिक प्रहरी कार्यालय सम्बन्धित जिल्ला प्रहरी प्रमुखकै कमान्डमा रहने व्यवस्था लागू गरेको हो।
यसअघि जिल्ला ट्राफिक प्रहरी कार्यालय नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय मातहत सञ्चालन हुँदै आएको थियो। प्रदेशभर कार्यरत ट्राफिक प्रहरीको सरुवा, खटनपटन तथा प्रशासनिक व्यवस्थापन पनि सोही कार्यालयबाट हुने गरेको थियो।
नयाँ व्यवस्थाअनुसार अब जिल्ला ट्राफिक प्रहरी कार्यालयले सम्बन्धित जिल्ला प्रहरी प्रमुखको प्रत्यक्ष कमान्ड र निर्देशनमा काम गर्नेछ। ट्राफिक प्रहरीको दैनिक परिचालन, समन्वय र जिल्लास्तरीय सुरक्षा व्यवस्थापनमा जिल्ला प्रहरी प्रमुखको भूमिका थप प्रभावकारी हुने अपेक्षा गरिएको छ।
विगतमा जिल्ला ट्राफिक प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय फरक कमान्ड संरचनामा हुँदा समन्वय अभावका कारण विभिन्न समस्या देखिने गरेका थिए। कतिपय अवस्थामा जिम्मेवारी बाँडफाँट, परिचालन तथा कार्यसम्पादनका विषयमा विवादसमेत उत्पन्न हुने गरेको थियो।
यही अवस्थालाई अन्त्य गर्दै जिल्लास्तरमा एकीकृत कमान्ड प्रणाली लागू गर्न प्रहरी प्रधान कार्यालयले यो निर्णय गरेको हो। यसबाट ट्राफिक व्यवस्थापन, शान्ति सुरक्षा र आकस्मिक परिचालनमा समन्वय अझ प्रभावकारी हुने विश्वास गरिएको छ।
प्रहरी प्रधान कार्यालयले यससम्बन्धी परिपत्र सम्बन्धित सबै निकायमा पठाइसकेको छ भने नयाँ व्यवस्था कार्यान्वयनमा आइसकेको प्रहरी स्रोतले जनाएको छ।
यद्यपि, यो व्यवस्था काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा भने लागू हुने छैन। उपत्यकाका यी ३ जिल्लाका ट्राफिक प्रहरी कार्यालय भने यथावत् काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयकै मातहत रहनेछन्।
