काठमाडौं । नेपाल प्रहरीमा लामो समयदेखि देखिँदै आएको दरबन्दीभन्दा बाहिर कार्यरत रहने र सरुवा–बढुवाका लागि विभिन्न माध्यमबाट पहल गर्ने प्रवृत्तिलाई नियन्त्रण गर्दै प्रहरी प्रधान कार्यालयले संगठनलाई विधि र प्रक्रियामा आधारित बनाउन थालेको छ।
प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको नेतृत्वमा अहिले प्रहरी कर्मचारीलाई आफ्नै दरबन्दी भएको कार्यालयमा फर्काउने अभियान तीव्र रूपमा अघि बढाइएको छ।
प्रहरी प्रधान कार्यालयले हालै विभिन्न प्रहरी इकाइमा कार्यरत कर्मचारीलाई उनीहरूको दरबन्दी रहेको कार्यालयमा फिर्ता पठाउने निर्णय कार्यान्वयन गरिरहेको छ। यसलाई संगठनभित्र अनुशासन, जिम्मेवारी र जनशक्ति व्यवस्थापनलाई थप व्यवस्थित बनाउने प्रयासका रूपमा हेरिएको छ।
लामो समयदेखि दरबन्दीभन्दा बाहिर बसेर काम गर्ने अभ्यासले जनशक्ति व्यवस्थापनमा असन्तुलन सिर्जना गरिरहेको अवस्थामा प्रहरी महानिरीक्षक कार्कीले त्यसलाई सुधार गर्ने संकेतसहित निर्देशन दिएका हुन्।
यही सन्दर्भमा आईजीपी कार्कीले स्कुपखबरसँगको कुराकानीमा प्रहरी कर्मचारीलाई संगठनभित्रकै स्थापित प्रक्रिया अपनाउन आग्रह गरेका छन्। उनले कुनै प्रहरी कर्मचारीलाई अप्ठ्यारो पर्ने संवेदनशील वा मानवीय कारण भए आफ्नो कार्यरत प्रहरी इकाइमार्फत निवेदन वा प्रतिवेदन पेश गर्न सक्ने व्यवस्था रहेको उल्लेख गर्दै त्यस्ता निवेदनको युक्तियुक्तता हेरेर आवश्यक सम्बोधन गरिने स्पष्ट पारे।
आईजीपी कार्कीको भनाइमा संगठन आफ्ना सदस्यका वास्तविक र जायज समस्या सुन्न तथा समाधान गर्न सक्षम छ। त्यसैले व्यक्तिगत पीडा वा प्रशासनिक आवश्यकताका विषय संगठनभित्रकै प्रक्रियामार्फत उठाउनुपर्नेमा उनले जोड दिएका छन्। उनका अनुसार मानवीय संवेदनशीलतासँग जोडिएका विषयलाई बेवास्ता नगरी वस्तुगत रूपमा मूल्यांकन गरेर आवश्यक निर्णय गरिनेछ।
उनले प्रहरी कर्मचारीहरूमा आफ्ना पीरमर्का संगठनभित्रै राख्ने संस्कार विकास हुनुपर्ने आवश्यकता पनि औँल्याएका छन्। सरुवा, बढुवा तथा अन्य प्रशासनिक विषयका लागि विभिन्न ठाउँमा धाउने, पहुँच खोज्ने वा अनावश्यक दौडधुप गर्ने प्रवृत्तिले संगठनको व्यावसायिकता र अनुशासनमा असर पुग्ने भएकाले त्यस्तो अभ्यास नियन्त्रण हुनुपर्ने उनको धारणा छ।
प्रहरी संगठनभित्र पछिल्लो समय विधि, प्रक्रिया र संस्थागत निर्णयलाई प्राथमिकता दिने अभ्यासलाई बलियो बनाउने प्रयास भइरहेको छ। दरबन्दीका आधारमा जनशक्ति व्यवस्थापन, जिम्मेवारीको स्पष्टता र कार्यसम्पादनलाई प्रभावकारी बनाउने उद्देश्यले अघि बढाइएको अभियानलाई प्रहरी वृत्तमा सकारात्मक रूपमा हेरिएको छ।
प्रहरी प्रधान कार्यालयको बुझाइमा कुनै कर्मचारीलाई पारिवारिक, स्वास्थ्य वा अन्य मानवीय कारणले विशेष सहजीकरण आवश्यक परे त्यसका लागि संगठनभित्रै पर्याप्त संयन्त्र रहेको छ। त्यस्ता विषयलाई सम्बन्धित कमाण्ड हुँदै औपचारिक रूपमा पेश गर्दा निष्पक्ष ढंगले मूल्यांकन गरी आवश्यक निर्णय लिने व्यवस्था कायम रहेको प्रहरी नेतृत्वको भनाइ छ।
आईजीपी कार्कीले संगठनभित्र विश्वासको वातावरण निर्माण गर्नु अहिलेको प्रमुख प्राथमिकता रहेको सन्देश दिएका छन्। प्रहरी कर्मचारीले व्यक्तिगत समस्या समाधानका लागि बाह्य प्रभाव वा अनौपचारिक माध्यम खोज्नुपर्ने अवस्था अन्त्य गर्दै संगठनभित्रकै प्रणालीलाई विश्वास गर्ने वातावरण बनाउनुपर्नेमा उनले जोड दिए।
दरबन्दीमा फर्काउने अभियानसँगै प्रहरी नेतृत्वले दिएको यो सन्देशलाई संगठनभित्र विधिसम्मत प्रशासन, पारदर्शी जनशक्ति व्यवस्थापन र अनुशासित कार्यसंस्कृति स्थापना गर्ने प्रयासका रूपमा हेरिएको छ। साथै, वास्तविक रूपमा अप्ठ्यारोमा परेका कर्मचारीका मानवीय समस्या भने संगठनले संवेदनशील ढंगले सम्बोधन गर्ने प्रतिबद्धता पनि प्रहरी नेतृत्वले व्यक्त गरेको छ।
