काठमाडौं । बझाङको दुर्गाथली गाउँपालिका–३ रकेलस्थित श्री भगवती आधारभूत विद्यालयमा सामान्य विवादपछि भएको कुटपिट घटनामा घाइते भएका एक जनाको उपचारका क्रममा मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार असार १९ गते बिहान करिब ११ः३० बजे विद्यालयका शिक्षक ५० वर्षीय मदन धामी र स्थानीय २५ वर्षीय सन्तोष धामीबीच सामान्य विवाद हुँदा कुटपिट भएको थियो। घटनामा शिक्षक मदन धामी टाउकोमा चोट लागेर घाइते भएका थिए।
कुटपिट छुट्याउन गएका सन्तोषका बुवा ५८ वर्षीय गगन धामी पनि टाउकोमा चोट लागेर गम्भीर घाइते भएका थिए। दुवैलाई उपचारका लागि जिल्ला अस्पताल बझाङ लगिएको थियो।
उपचारपछि शिक्षक मदन धामी सोही दिन साँझ अस्पतालबाट डिस्चार्ज भएका थिए। गम्भीर घाइते गगन धामीलाई थप उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल रेफर गरिएकोमा असार २० गते बिहान करिब १०ः१५ बजे उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाको अनुसन्धानका क्रममा कुटपिटमा संलग्न रहेको आरोपमा दुर्गाथली गाउँपालिका–३ का २८ वर्षीय सिंहराज धामीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।
